शेरबहादुर राई
ओखलढुङ्गा, चैत २० गते । ओखलढुङ्गामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा छ ।
स्वास्थ्य कार्यालय रुम्जाटारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तीन आर्थिक वर्षलाई केलाउँदा जिल्लामा नसर्ने रोग बाट बिरामी भएकाको सङ्ख्या बढ्दो देखिन्छ ।
आर्थिक वर्ष २०७९/०८० मा जिल्लाभर दुई हजार २८ जना नसर्ने रोगका बिरामी थिए । यो सङ्ख्या आर्थिक वर्ष २०८०/०८१ मा बढेर तीन हजार ७५५ पुगेको छ भने २०८१/०८२ मा चार हजार ६१६ पुगेको छ ।
स्थानीय तहगत विवरण हेर्दा पनि अधिकांश पालिकामा बिरामीको सङ्ख्या बढेको देखिन्छ । आर्थिक वर्ष २०७९/०८० मा सिद्धिचरण नगरपालिकामा २४७, मोलुङमा १२४, चिशङ्खुगढीमा १४३, खिजिदेम्बामा १४०, लिखुमा ४९९, चम्पादेवीमा ८२७, सुनकोशीमा सात र मानेभन्ज्याङमा ४१ जना बिरामी थिए ।
आर्थिक वर्ष २०८०/०८१ मा सिद्धिचरणमा ७२२, मोलुङमा ११९, चिशङ्खुगढीमा २१७, खिजिदेम्बामा २४६, लिखुमा ६४२, चम्पादेवीमा १,३२६, सुनकोशीमा १६८ र मानेभन्ज्याङमा ३१५ जना पुगेका छन् ।
यस्तै आर्थिक वर्ष २०८१/०८२ मा सिद्धिचरणमा १,४४४, मोलुङमा ६२३, चिशङ्खुगढीमा १७९, खिजिदेम्बामा २६७, लिखुमा २१४, चम्पादेवीमा १,३१८, सुनकोशीमा १५६ र मानेभन्ज्याङमा ४१५ जना बिरामी छन् ।
स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक नवराज बानियाँका अनुसार अस्वस्थकर खानपान, अव्यवस्थित जीवनशैली र शारीरिक निष्क्रियताका कारण मुटुरोग, उच्च रक्तचाप, मधुमेह, मोटोपना तथा क्यान्सरजस्ता नसर्ने रोगको जोखिम बढ्दै गएको हो ।
कार्यालयले समयमै रोग पहिचान र नियन्त्रणका लागि जिल्लाभर ‘स्क्रिनिङ’ अभियान सञ्चालन गरिएको जनाएको छ । स्वास्थ्यकर्मी ले नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार, व्यायाम र स्वस्थ जीवनशैली अपनाउन सके नसर्ने रोगको जोखिमबाट बच्न सकिन्छ ।