• १७ वैशाख २०८२, बुधबार

बाह्र प्रतिशतमा मोतीविन्दु

blog

मोतीविन्दुको शल्यक्रियापछि आराम गर्दै । फाइल तस्बिर

म्याग्दी समाचारदाता

म्याग्दी, वैशाख १७ गते । म्याग्दीको दुर्गम बस्ती मल्कवाङमा सञ्चालन गरिएको आँखा शिविरमा परीक्षण गराएकामध्ये १२ प्रतिशतभन्दा धेरैमा मोतीविन्दुको समस्या देखिएको छ ।

धवलागिरि गाउँपालिका–५ मल्कवाङमा भएको आँखा शिविरमा सहभागी भएका एक सय २८ जनामध्ये १६ जना अर्थात् १२ प्रतिशतभन्दा धेरैमा मोतीविन्दु पहिचान भएको हो । धवलागिरि गाउँपालिकाको आयोजना र नेपाल नेत्र ज्योति सङ्घ आँखा उपचार केन्द्र म्याग्दीको प्राविधिक सहयोगमा सम्पन्न आँखा शिविरमा सेवा लिन आएकामध्ये १६ जनामा मोतीविन्दु, चार जनामा जलविन्दु र ३५ जनामा आँखासम्बन्धी अन्य समस्या पहिचान भएको नेत्र ज्योति सङ्घका प्राविधिक दिनेश बानियाँले जानकारी दिनुभयो । 

आँखाको मोतीविन्दु भएकामध्ये तीन जनाको तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्था भएको उहाँको भनाइ छ । नेपाल नेत्र ज्योति सङ्घ म्याग्दीका अध्यक्ष अमर बानियाँका अनुसार यही वैशाख २२ देखि २४ गतेसम्म मालिका गाउँपालिकाको आयोजना तथा अन्य स्थानीय सङ्घ संस्थाको समन्वयमा गाउँपालिकाको केन्द्र दरवाङमा हुने शिविरमा मोतीविन्दुको शल्यक्रिया हुने छ । दरवाङमा हुने शिविरमा हिमालयन आँखा अस्पताल पोखरा तथा नेत्र ज्योति सङ्घ म्याग्दी आँखा उपचार केन्द्रको प्राविधिकि सहयोगमा हुने उहाँले बताउनुभयो ।