काठमाडौँ, वैशाख १५ गते । नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगितामा एक स्वर्ण, ६ रजत र पाँच कांस्यसहित १२ पदक जितेको छ ।
यु–१९ र यु–१५ उमेर समूहमा १४ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी १३ स्वर्ण भारतले जित्यो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न प्रतियोगिताको यु–१९ ब्वाइज टिम इभेन्टमा प्रवेश बस्नेत, गनञ्जय दाहाल, हिमाल विष्ट र रुविन महर्जनको टोलीले नेपाललाई स्वर्ण दिलाउनुभयो ।
सोही स्पर्धाको गर्ल्समा नेपालका इभाना थापा, वियङ्का राई, योङ्गी पौडेल र दिया देउलाले रजत जित्नुभयो । इभाना र वियङ्काको जोडीले यु–१९ गर्ल्स डबल्समा पनि रजत हात पारे । यु–१५ गर्ल्स डबल्समा नेपालका शुभश्री श्रेष्ठ र प्रजिना महर्जनको जोडी दोस्रो हुनुभयो ।
अखिल नेपाल टेबलटेनिस सङ्घद्वारा आयोजित प्रतियोगिताको यु–१५ ब्वाइज टिम इभेन्टमा प्रजिल भट्टराई, जयस्नु महर्जन, आर्यन शाही र रिजन शाक्य सम्मिलित नेपाली टोलीले रजत जित्नुभयो ।
यु–१९ ब्वाइज डबल्समा नेपालका गनञ्जय दाहाल र प्रवेश बस्नेतको जोडी रजत जित्न सफल हुनुभयो । यु–१५ ब्वाइज डबल्समा नेपालका प्रजिल भट्टराई र जयस्नु महर्जनको जोडी दोस्रो स्थानमा रहनुभयो ।
यु–१५ गर्ल्स टिम इभेन्टमा शुभश्री श्रेष्ठ, प्रजिना महर्जन, सुरम्य शाक्य र श्रृया शाक्य, यु–१९ मिक्स डबल्समा गनञ्जय दाहाल र इभाना, यु–१५ गर्ल्स सिंगल्समा शुभश्री, यु–१९ गर्ल्स सिंगल्समा इभाना, यु–१५ ब्वाइज सिङ्गल्समा प्रजिल भट्टराई तथा यु–१९ ब्वाइज सिङ्गल्समा गनञ्जय दाहालले नेपालका लागि कांस्य जित्नुभयो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, बागमती प्रदेशका सदस्यसचिव दीपक लामा, आयोजक सङ्घका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुँवेरप्रकाश सिंहलगायतले पुरस्कार प्रदान गर्नुभयो । चार दिने प्रतियोगितामा भुटानबाहेक ६ दक्षिण एसियाली राष्ट्रका ८५ खेलाडी सहभागी थिए ।