विजयकुमार साह
ढल्केबर, वैशाख १४ गते । धनुषामा दुई ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ । धनुषाको धनुषा नगरपालिका ६, मालटोल चौकमा आइतबार बिहान ६ बजे पूर्वतर्फ गइरहेको प्र ०२ ०३ ००१ख ०७१५ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको ना ६ ख ३४६३ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनापछि ना ६ ख ३४६३ नम्बरको ट्रकमा आगलागी भइ पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। दुर्घटनामा दुवै ट्रकका चालक र सहचालक घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि जनकपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबर प्रहरी निरीक्षक जटाशङ्कर यादवले बताउनुभयो ।
दुर्घटनाका कारण केही समयसम्म सो क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको थियो। हाल घटनास्थलमा प्रहरी र स्थानीयवासीको सहयोगमा ट्राफिक व्यवस्थापन र आगलागी नियन्त्रणको कार्य सम्पन्न गरिएको छ।
दुर्घटनाको कारण र क्षतिको थप विवरण भने अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।