• १४ वैशाख २०८२, आइतबार

आफ्नै भवनबाट पालिकाको सेवा

blog

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाको नवनिर्मित भवन । तस्बिर : राजु लामिछाने

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, वैशाख १४ गते । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन भएको छ । गाउँपालिकाको वडा नं. ३ खारानेटामा निर्मित भवनको पूर्वअर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले उद्घाटन गर्नुभएको हो । 

उक्त अवसरमा पूर्वमन्त्री शर्माले जनतालाई सरल र सहज सेवा प्रवाहमा थप सहजता हुने बताउनुभयो । उहाँले विभिन्न कालखण्डका राजनैतिक सङ्घर्षले स्थापित गणतन्त्रको सुन्दरता सङ्घीयता भएकाले नजिकको सरकार मानिने स्थानीय तहले त्यसको सुगन्ध फैलाउनुपर्नेमा जोड दिनुभयो । जनतालाई सुरक्षा, राजनैतिक अधिकार, सुशासन र आर्थिक विकाससँगै शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवाको सहजता दिलाउन स्थानीय सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

सङ्घीय सरकारले दिनुपर्ने सम्पूर्ण अधिकार दिन नसकेको अवस्थामा स्थानीय सरकारले आफ्नो तागतमा विभिन्न काम गरिरहेकाले त्यसको प्रशंसा गर्नुपर्ने उहाँको भनाइ छ । शर्माले स्थानीय तहले अभ्यास गर्दै, सिक्दै जनताको घर घरमा गएर प्रभावकारी सेवा दिइरहेको उल्लेख गर्नुभयो । गाउँपालिकाको नयाँ भवन अपाङ्गतामैत्री समेत रहेकाले सबै जनता लाभान्वित हुने उहाँको अपेक्षा रहेको छ । 

गाउँपालिका अध्यक्ष गणेश केसीका अनुसार गाउँपालिकाले अब आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । स्थानीय तहको प्रशासकीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सङ्घ र स्थानीय सरकारको साझेदारीमा गाउँपालिका भवन निर्माण गरिएको हो । उक्त भवन आठ करोड २८ लाख ४२ हजार ३७२ रुपियाँको लागतमा निर्माण भएको गाउँपालिकाले बताएको छ । भवनमा साढे तीन तला र ३३ कोठा रहेका छन् । भवन निर्माणमा सङ्घीय सरकारको ६० र स्थानीय तहको ४० प्रतिशत लगानी रहेको छ । भवन निर्माणका लागि २०७८ चैत ३० गते समानान्तर रेलिगेर जेभी निर्माण कम्पनीसँग भवन निर्माणको सम्झौता भएको थियो । औपचारिक रूपमा भवन उद्घाटन भएसँगै गाउँपालिकाको सेवा प्रवाहमा सहजता हुने बताइएको छ । भवन र कोठाको अभाव हुँदा वडा नं. ३ को खारानेटा, वडा नं. २ को सिम्रुतुमा गाउँपालिकामातहतका विभिन्न शाखा सञ्चालन भएका थिए ।