• १४ वैशाख २०८२, आइतबार

सुरेनको ‘परिबन्ध’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वेशाख १४ गते । सुरेन गौतमको स्वर, शब्द र कल्याण सिंहको सङ्गीतमा रहेको मर्मस्पर्शी गीत ‘परिबन्ध’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतले प्रेम र जिम्मेवारीबिचको द्वन्द्वलाई निकै गहिरो तरिकाले प्रस्तुत गरेको छ । सकु शाह र लोमस शर्मा अभिनीत भिडियोको निर्देशन पिटर गुरुङले गर्नुभएको हो । भिडियोको कथा देव र काव्या नामक दुई पात्रको दुःखद प्रेम यात्रामा केन्द्रित छ, जसको सुरुवात विद्यालय जीवनदेखि हुन्छ । एकअर्कामा गहिरो माया राख्ने उनीहरू भविष्यको सुनौलो सपना बाँड्छन् तर जीवनको कठोर यथार्थले उनीहरूलाई बेग्लै दिशातर्फ डो¥याउँछ ।

काव्या आर्थिक अभावका कारण बिदेसिन चाहन्छे भने देव आफ्नी बिरामी आमाको हेरचाहमा समर्पित हुन्छ । एकअर्कालाई बिनाजानकारीबाट सुरु भएको दुरी, अन्ततः नसोचेको बिछोडमा परिणत हुन्छ । काव्या विदेश पुग्छे तर देवसँगको टुटेको सम्पर्कले उसलाई भित्रभित्रै गलाउँछ । बर्सौं पछि उनीहरू नेपालमै एक ध्यानस्थ स्थानमा आकस्मिक रूपमा भेटिन्छन्, भावनाले भरिएका आँखाले कुरा गर्छन् तर उनीहरू मौन रहन्छन् । अन्ततः उनीहरू विगतको सम्झनासहित बेग्लै बाटो समाउँछन् । यी नै कुराहरू गीतमा मार्मिक भावले देखाउन खोजिएको छ ।