• १४ वैशाख २०८२, आइतबार

एक लाखबाट चार करोडको मालिक

blog

रामेछाप समाचारदाता

रामेछाप, वैशाख १४ गते । रामेछाप नगरपालिका–६, ओख्रेनीका लोकेन्द्र श्रेष्ठ जिल्लाको एक सफल उद्यमीमा पर्नुहुन्छ । श्रेष्ठको सदरमुकाम मन्थलीमा जुनारको स्क्वास जुस उत्पादन गर्ने मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रालि नामक उद्योग सञ्चालनमा छ । 

यो उद्योगबाट रामेछाप जिल्लाका विभिन्न स्थानमा फलेका जुनारको स्क्वास जुस उत्पादन हुन्छ । यो उद्योगबाट उत्पादित जुनारको स्क्वास जुस अहिले रामेछापको कोसेलीका रूपमा प्रख्यात छ । 

श्रेष्ठको उद्योगलगायत अन्य उद्योगले उत्पादन गरेको जुनारको जुस रामेछापको कोसेली बनेको छ । यही उद्योगबाट श्रेष्ठले चार करोड रुपियाँभन्दा बढी आम्दानी गरिसक्नुभएको छ । 

श्रेष्ठ १९ वर्षअघि कलिलै उमेरमा जुनार कारोबारबाट सफल उद्यमी बन्नुभएको छ । उहाँले २०६३ सालमा १७ वर्षको उमेरमा स्थानीय जुनार कृषि सहकारीमा जुनारको जुस बनाउने काम गर्नुभएको थियो । त्यसबेला दैनिक बच्ने २५ रुपियाँले मात्रै घरपरिवारको खर्च धान्न नसक्ने भएपछि श्रेष्ठले ब्याजमा ऋण खोजेर कुखुरापालन व्यवसाय सुरु गर्नुभयो । यसबाट फाइदाभन्दा घाटा धरै भएपछि विदेश जान लिएको एक लाख ४० हजार रुपियाँको लगानी स्क्वास जुस उत्पादन गर्न थाल्नुभयो । 

उहाँले भन्नुभयो, “आफ्नै गाउँघरमा फलेका ४० बोरा जुनार जम्मा गरेर बसमा मन्थली ल्याएर उद्योग सुरु गरेको थिएँ । एक लाख ४० हजार लगानीबाट सुरु गरिएको उद्योग वार्षिक पाँच करोड रुपियाँसम्मको कारोबार गर्ने भएको छु,” उद्योग सञ्चालक श्रेष्ठले भन्नुभयो । कोरोना महामारीअगाडिसम्म १३ जना कर्मचारीलाई वर्षभरि रोजगारी दिइरहेको उद्योगले कोरोनापछि भने अहिलेसम्म चारदेखि पाँच जनालाई मात्रै रोजगारी दिएको छ । 

“यसैबाट घरघडेरी, उद्योग सबै गरी चार करोड कमाइ पुगेको छ,” उहाँले भन्नुभयो । श्रेष्ठको उद्योगबाट अहिले जुनार, बेल, कागती, अमला, किवीको स्क्वास जुस उत्पादन भइरहेको छ । उत्पादन भएको स्क्वास जुस रामेछाप, दोलखा, सिन्धुली र ओखलढुङ्गा जिल्लाका विभिन्न बजारलगायत बर्दीबास, हेटौँडा, चितवन, काँकडभिट्टा, काठमाडौँलगायतका बजारमा पुग्ने गरेको छ ।