हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), कात्तिक २ गते । हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थलको मुक्तिनाथ मन्दिरमा रहेको १०८ धारामा स्नान गर्ने क्रममा तिर्थालुको टाउको र निधारमा चोट लाग्ने समस्यालाई समाधान गर्न धाराको उचाइ बढाइने भएको छ ।
मन्दिर पछाडी रहेको धारामा स्नान गर्ने क्रममा दैनिकजसो चोट लागेर नजिकै रहेको स्वास्थ्य संस्थामा जानुपर्ने समस्या हट्ने भएको हो । मन्दिरमा भिडभाड हुदाँ हतारिएर स्नान गर्दा चोट लाग्ने गरेकाले अब सहजै स्नान गर्न मिल्ने गरी धाराको मर्मत गरिने मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका अअध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताउनुभयो । प्रजिअ भुषालले भन्नुभयो, ‘‘धारामा निहुरिएर नुहाउनु पर्ने बाध्यता छ, मन्दिरमा प्रवेश गर्ने भक्तजनलाई कुनै समस्या हुन नदिनेमा प्रतिबद्ध छौं ।’’
समितिको वार्षिका साधारणसभामा चालु आर्थिक वर्ष २०८२-०८३ सालमा बजेट सुनिश्चित गरी धाराको उचाई बढाउने निर्णय भएको समेत प्रजिअ भुषालले बताउनुभयो । धारामा स्नान गर्ने क्रममा जाली च्यातिएर खुट्टामा समेत चोट लाग्ने गरेको छ ।
धाराको उचाई बढाउन पूर्वाधार कार्यालयमार्फत डिजाइन बनाएर स्थानीय सरोकारावालासँग समेत छलफल गरी मर्मतकार्य गरिने समितिले जनाएको छ । यसैबिच धारा र दुई कुण्डमा रेनकोट, प्लास्टिक र स्विमङ ड्रेस लगाएर स्नान गर्ने प्रबृत्ति बढेको भन्दै तत्काल रोक लगाइएको छ । धारा र कुण्डमा स्नान गर्दा दुर्घटनाको जोखिमलाई मध्यनजर गरी रेलिङ सहित ढुङ्गा बिछ्याइएकाले सहज भएको छ । मन्दिरमा सङ्कलन भएको भेटी र चन्दाले पुरानो स्वरूपलाई असर नगर्ने गरी पूर्वाधार थपिएपछि तिर्थालुलाई सहज भएको छ । मुक्तिनाथमा दर्शन, पूजापाठ र स्नान गरेमा भित्री मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । संसारको जुनकुनै स्थानमा भए पनि एकपटक मुक्तिनाथको दर्शन र त्यहाँका १०८ धारा र जलकुण्डमा नुहाउँदा मोक्ष प्राप्ति हुन्छ ।
हिन्दु धर्मग्रन्थ अनुसार मुक्ति प्राप्तिका लागि उहिल्यै ब्रह्माले मुक्तिनाथमा योगरुप यज्ञ गरेको इतिहास छ भने बौद्धमार्गी अनुसार तिब्वतबाट बौद्धमार्गि पण्डित कैलाश पर्वत दर्शन गर्न गएको र कैलाशको जल लिएर मुक्तिनाथमा सञ्चय गरी १०८ धारा बनाइएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
समुन्द्र सतहदेखि ३ हजार ६१० मिटरको उचाईमा अवस्थित मन्दिरमा आउने तिर्थालुलाई रानीपौवाबाटै सहज हुने गरी आवश्यक सुविधामा प्रतिबद्ध रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडा अध्यक्ष एवम् गाउँपालिका प्रबक्ता प्रमेश गुरुङले बताउनुभयो । मुक्तिनाथ मन्दिरमा नेपाली तथा विदेशी तिर्थालु र तेस्रो मुलुकबाट आउने पर्यटक गरी वार्षिक करिब ८ लाखको आगमन रहेको छ ।
नेपाली, भारतीय र तेस्रो मुलुकबाट आउने तिर्थालुले मन्दिर परिसर बाहिर र भित्र राखिएको पाँच वटा दानपेटिका, नगद रसिद काँटेर गरिएको दानबाट समितिको खातामा दानपेटिका र रसिदमार्फत चढाएको ११ करोड १९ लाख समितिको खातामा रहेको छ ।