गोरखापत्र समाचारदाता
भक्तपुर, वैशाख १२ गते । मानव अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले स्थापना गरिएको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र १३ औँ वर्षमा प्रवेश गरेको छ ।
सो अवसरमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञानको विशिष्ट र जटिल विषय मानव अङ्ग प्रत्यारोपणमध्ये अब नेपालले मुटु प्रत्यारोपण तयारी गरिरहेको बताउनुभयो ।
मन्त्री पौडेलले प्रत्यारोपण तथा उपचार जति महँगो र जटिल भए पनि सहुलियतपूर्ण बनाउनेतर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले सरकारले मिर्गौला प्रत्यारोपणमा चार लाख र औषधी खर्चबापत एक लाख रुपियाँ दिँदै आएको जानकारी दिँदै अन्य रोगको उपचारमा पनि त्यही अनुसार सुविधा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रमा बिरामीको सङ्ख्या बढे पनि भौतिक संरचना सीमित हुँदा उपचारमा समस्या आएको बताउनुभयो । सरकारले जग्गा उपलब्ध गराउन नसक्दा प्रत्यारोपण सेवा खुम्चिन पुगेको भन्दै उहाँले सरकारले तत्काल जग्गा उपलब्ध गराउन सके केन्द्रलाई पाँच सय शय्यामा सञ्चालन गर्न सकिने बताउनुभयो ।
निःशुल्क उपचार सुरु
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा वैदेशिक रोजगारीबाट फर्किएकाको निःशुल्क ओपिडी सेवा सुरु गरिएको छ । केन्द्रको १३ औँ स्थापना दिवसका अवसरमा सेवा सुरु गरिएको हो । मन्त्री प्रदीप पौडेलले सेवाको उद्घाटन गर्नुभयो । सेवालाई चरणबद्ध विस्तार गर्दै लगिने छ ।
केन्द्रकी मिर्गौला रोग विभागकी प्रमुख डा. कल्पनाकुमारी श्रेष्ठका अनुसार पहिलो चरणमा ओपिडी सेवा निःशुल्क प्रदान गरिने छ । साथै परामर्शसमेत दिइने छ । “हामीले अहिले ओपिडी सेवा निःशुल्क दिने भनेका छौँ । पछि यसमा जाँचलगायतका कुरा निःशुल्क गर्दै चरणबद्ध रूपमा गर्ने छौँ,” डा. श्रेष्ठले भन्नुभयो, “वैदेशिक रोजगारीमा गएर फर्कनुभएका श्रमिकको मिर्गौला बिग्रेको हुन सक्छ । यहाँ आएर जाँच गर्दा समयमै पत्ता लागोस् भनेर यो गर्न लागेका हौँ ।”