• ११ वैशाख २०८२, बिहिबार

नयाँबस्तीमाथि बाँसबारीको सहज जित

blog

बल खोस्ने प्रयास गर्दै खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, वैशाख ११ गते । बाँसबारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा नयाँबस्ती क्लबमाथि सहज जित निकालेको छ ।

एन्फा मैदानमा बिहीबार भएको खेलमा बाँसबारीले नयाँबस्तीलाई २–० गोलले हरायो । बाँसबारीको जितमा दुवै गोल सन्दीप लिम्बूले गर्नुभयो ।

उहाँले ६८औँ र इन्जुरी समयमा गोल गर्नुभएको थियो । जितसँगै बाँसबारीले आठ खेलबाट १२ अङ्क बनाएको छ । पराजित नयाँबस्तीको समान खेलबाट आठ अङ्क पुगेको छ ।

बिहीबारनै भएको अर्को खेलमा सरस्वती युथ क्लबले च्यासल युथ क्लबलाई १–० गोलले हराएको छ । सरस्वतीको कठिन जितमा विषेश लामाले २८औँ मिनेटमा गोल गर्नुभयो ।

जितसँगै सरस्वतीले आठ खेलबाट ६ अङ्क बनाएको छ । पराजित च्यासलको समान खेलबाट ११ अङ्क छ । लिगमा ‘बी’ डिभिजनका १४ टोलीबिच प्रतिस्पर्धा भइरहेको छ ।

लिगको विजेताले १५ लाख रुपियाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । 

यस्तै ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।