केदार तिमिल्सिना
बनेपा, वैशाख ९ गते । प्रिमनसुनमा नै जिल्लाका सडकमार्ग अवरुद्ध भएसँगै यस पटकको बर्सातमा यातायात सञ्चालन नहुने हो कि भन्ने चिन्ता थपिएको छ । केही दिनदेखि सुरु भएको प्रिमनसुनका कारण अरनिको राजमार्ग, बिपी राजमार्ग तथा प्रादेशिक सडकमार्ग अवरुद्ध भएपछि वर्षायाममा अन्य सडक पनि बन्द हुने आकलन गरिएको हो ।
बिहीबार दिउँसो परेको वर्षाका कारण चीनसँग जोड्ने अरनिको राजमार्गको ५१ किलोमा लेदोले सडक अवरुद्ध भएको थियो । आउँदो मनसुनी वर्षामा समेत राजमार्ग अवरुद्ध हुने अनुमान गरिएको छ । पछिल्लो समय अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडक, धुलिखेल–खावा सडक निर्माणाधीन रहेको छ । वर्षायाममा राजमार्गमा पहिरोले सडक अवरुद्ध होला भन्ने विषयमा जिल्ला प्रशासन, सडक डिभिजन, सडक आयोजना र प्रहरी तथा स्थानीय निकायले चिन्ता व्यक्त गरेका छन् ।
यसै गरी गत असोजमा आएको बाढीपहिरोका कारण पूर्वी तराई तथा भारतसँग सिमाना जोड्ने बिपी राजमार्गमा क्षति गरेपछि वर्षायाममा यातायात सेवा अवरुद्ध होला भन्ने विषयमा चिन्तासमेत देखिएको छ । बिपी राजमार्गमा हाल निर्माण भइरहेको अस्थायी सडक रोसी खोलाले पुनः क्षति गरेको खण्डमा सडक पूर्ण रूपमा बन्द हुने छ । सडक डिभिजन भक्तपुरले बिपी राजमार्गको वैकल्पिक सडकका रूपमा भकुन्डेबेँसी पोखरीनारायण स्थान–तेमाल सडकलाई प्रयोगमा ल्याउन खोजे पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले
भने उक्त सडक वैकल्पिक मार्गका लागि योग्य नभएको जनाएको छ ।
ट्राफिक प्रहरीले उक्त सडक कच्ची र साँघुरो भएका कारण वर्षाको समयमा बिपी राजमार्गको वैकल्पिक मार्गका रूपमा उक्त सडकलाई सिफारिस गर्न नसक्ने जनाउँदै आएको छ । यस्तै गत असोजको बाढीपहिरोका कारण पूर्ण रूपमा क्षति भएको जिल्लाको बेथानचोक र खानीखोला गाउँपालिकाको केन्द्र जोड्ने खोपासी–चलाल गणेशस्थान–ढुङ्खर्क सडक पनि पूर्ण रूपमा क्षति भएका कारण वर्षायाममा उक्त सडक पनि पूर्ण रूपमा बन्द हुने सङ्केत देखिएको छ ।
बाढीपहिरोले कालोपत्रे गरिएको सडक पूर्ण रूपमा क्षति गरेपछि हाल खोलाको किनारबाट अस्थायी रूपमा कच्ची ट्र्याक बनाई यातायात सञ्चालन गरिएको छ । केही स्थानमा पहिरोको जोखिमसमेत बढेको स्थानीयवासीले जानकारी दिएका छन् । वर्षाको समयमा अरनिको राजमार्ग सूर्यविनायकदेखि धुलिखेल अन्तर्गत साँगानजिक भक्तपुरतर्फ सडकको भित्तोमा पहिरो खस्ने जोखिम छ । उकालो सडकमा सवारीसाधन चिप्लिएर काभ्रेतर्फ आउन सक्ने अवस्था नहुने यातायात व्यवसायी रमेश न्यौपाने बताउनुहुन्छ ।
सूर्यविनायक–धुलिखेल सडक आयोजनाले वर्षाको समयमा अरनिको राजमार्ग अवरुद्ध भएको अवस्थामा भक्तपुरको च्यामासिङ–ताथली–नाला सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालन गर्ने तयारी गरेको छ । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले वर्षाको समयमा बाढीपहिरोका कारण जिल्लाका दुई राजमार्ग तथा अन्य सहायक मार्ग बन्द हुन सक्ने अवस्था देखिएको बताउनुभयो । उहाँले वर्षायाममा राजमार्ग र अन्य सडक अवरुद्ध हुने अवस्था आउन नदिनका लागि सोही अनुसार काम गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको बताउनुभयो । सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले वर्षाको समयमा बिपी राजमार्ग अवरुद्ध हुन नदिनका लागि क्षतिग्रस्त राजमार्गलाई बनाउने काम भइरहेको बताउनुभयो । असोज महिनाभन्दाअघि आएका बाढीले क्षति नहुने गरी सडकको उचाइ बढाउने, सडकको बहाव परिवर्तन गराउने काम गरिएको बताउनुभयो ।
सडक डिभिजनले अरनिको राजमार्गको धुलिखेल–खावा सडकको वैकल्पिक मार्गका रूपमा बनेपा–रविओपी–पाँचखाल सडकलाई प्रयोग गर्न खोजे पनि उक्त सडक पनि निर्माणाधीन भएकाले उक्त सडकमा समेत सवारी चिप्लिने खतरा रहेको छ ।