• ९ मंसिर २०८१, आइतबार

आयोडिनमा चलखेल

blog

सरोज ढुङ्गेल/सीता शर्मा

काठमाडौँ, जेठ २४ गते ।आर्थिक वर्ष २०७८/०७९ को बजेटमा जस्तै आर्थिक वर्ष ०७९/८० को बजेटमा पनि नुनमा निजी क्षेत्रलाई प्रवेश गराउने प्रावधान नआएपछि यस वर्ष पनि आयोडिनयुक्त नुनमा निजी क्षेत्रको बाटो खुलेन ।

चालु आवको बजेट ल्याउँदा सरकारमा बलियो प्रभावसहित बालुवाटारमा रहेको निजी क्षेत्रका एक व्यक्तिको प्रभावमा आयोडिनयुक्त नुनको कारोबारमा निजी क्षेत्र प्रवेश गर्ने प्रावधान राखिएको आरोप त्यसबेला लागेको थियो । दुगडको घरानाले केही समयअघि नुनको कारोबार थालेको थियो । मोतीलाल दुगड तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार तथा पूर्ववाणिज्य राज्यमन्त्री हुनुहुन्थ्यो । त्यसको व्यापक विरोध भएपछि उक्त प्रावधान निष्क्रिय भएको थियो । 

सरकारी र निजी साझेदारीको साल्ट ट्रेडिङ  कर्पोरेसन लिमिटेडले आयोडिनयुक्त नुनको कारोबार गर्छ । उक्त कर्पोरेसनले सरकार तथा संसदीय समितिहरूमा लबिङ गरेर उक्त प्रावधान निष्क्रिय गराएको थियो । यस वर्षको बजेटमा पनि त्यस्तै प्रावधान घुसाउन निजी क्षेत्रका केही व्यक्ति र घराना लागिपरेका थिए तर उक्त कार्य सम्भव भएन । अहिले उक्त कार्य सम्भव नभए पनि अर्को पटकका लागि वातावरण मिलाउन त्यस्तो प्रचारबाजी सुरु भएको छ । यसपटकको चलखेल साल्ट ट्रेडिङको शेयर हिस्सा लिने गरी अर्कै घरानाबाट भएको साल्ट  ट्रेडिङ  स्रोतले जनाएको छ ।  त्यस्तो कार्य नेपालीले भान्सामा प्रयोग गर्ने नुनमा आयोडिनको मात्रा बढी रहेको भन्ने रहेको छ । चिकित्सा क्षेत्रभन्दा बाहिरका केही विज्ञले गरेको अध्ययनको हवाला दिएर उक्त प्रचारबाजी भइरहेको छ । 

यस वर्षको बजेटमा पनि त्यस्तै प्रावधान घुसाउन निजी क्षेत्रका केही व्यक्ति र घराना लागिपरेका थिए तर उक्त कार्य सम्भव भएन ।

चिकित्सकहरूले भने नेपालीले आयोडिनको अभाव अझै झेल्नुपरेको र त्यसले स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको बताउनुभएको छ । आयोडिनको कमीले हुने सुस्त मनस्थिति तथा गलगाँडजस्ता रोगको रोकथामका लागि आयोडिनको सही सदुपयोग गर्न चिकित्सकहरूले सुझाव दिनुभएको छ । आयोडिनको कमीले समस्या हुने तर आयोडिन बढी भएमा कुनै पनि समस्या नपर्ने हुनाले कुनै पनि भ्रममा नपर्न उहाँहरूको सुझाव छ । 

कति चाहिन्छ आयोडिन ?

विश्व स्वास्थ्य सङ्गठनको न्युट्रेसन युनिटको मापदण्डअनुसार पनि मानिसलाई कम्तीमा २५ देखि ५० पीपीएम आयोडिन अनिवार्य चाहिन्छ । त्यसका लागि एक व्यक्तिले पाँचदेखि १० ग्रामसम्म आयोडिनयुक्त नुन प्रयोग गर्नुपर्छ । सङ्गठनले मानवमा आयोडिनको कमी वा बढी के रहेको छ भन्ने मापनका लागि नुन वा आयोडिन रहेका अन्य तत्त्वको उपभोगलाई भन्दा मानवको पिसाब परीक्षणलाई मान्यता दिएको छ । त्यसै आधारमा नेपालीको पिसाब परीक्षण गर्दा आयोडिनको मात्रा कमी भएको पाइएको चिकित्सक सङ्घको जर्नल (जेएनएमए भोल्युम ५९ इस्यु २४२ अक्टोबर २०२१)मा उल्लेख छ । 

विद्यार्थीमा गरिएको अध्ययनले विद्यालयका बालबालिकाको पिसाब परीक्षण गर्दा आयोडिनको मात्रा अपर्याप्त रहेको पाइएको थियो । पिसाबमा आयोडिनको मात्रा कम भएका विद्यालयका बालबालिकाबाट सङ्कलन गरिएका ४६ नमुनामध्ये २२.२ प्रतिशत नमुनामा १५ पीपीएमभन्दा कम आयोडिन पाइएको थियो । जनस्वास्थ्यविद् आनन्दबल्लभ जोशीलगायतको टोलीले गरेको अनुसन्धानमा विद्यालयका बालबालिकालाई आयोडिनको कमीले समस्या हुने जोखिम रहेको थियो ।

उक्त अध्ययन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट स्वीकृति प्राप्त गरेपछि २०१९ अप्रिलदेखि जुलाई २०१९ सम्म पिसाबमा अनुसन्धान गरिएको थियो । नेपालमा ५० पीपीएम आयोडिनलाई मान्यता दिइएको छ । सङ्गठनको न्युट्रेसन युनिटको मापदण्डअनुसार मानिसले कम्तीमा २५ देखि ५० पीपीएम आयोडिन अनिवार्य चाहिन्छ । 

आयोडिन बढी हुँदा थाइराइड हुँदैन

वरिष्ठ थाइराइड विशेषज्ञ डा. ज्योति भट्टराईले आयोडिन बढी भएरभन्दा पनि कम भएर मानिसलाई असर गर्ने बताउनुभयो । उहाँले पहिले–पहिले आयोडिन कमी भएर गलगाँड र सुस्त मनस्थिति भएको बच्चा जन्मिने गरेको जानकारी दिँदै त्यो अवस्था आउन नदिनलाई आयोडिनयुक्त नुनलाई प्रश्रय दिनुपर्ने बताउनुभयो । उहाँले अझै पनि कतिपय गाउँमा गलगाँड भएका मानिस रहेको भन्दै ती व्यक्तिमा आयोडिनको मात्रा नपुगेको बताउनुभयो । 

नुनमा आयोडिनको मात्रा बढी देखायो भन्नुको अर्थ नुनमा आयोडिन हाल्ने कार्यक्रम भएको रहेछ भनेर बुझ्नुपर्ने उहाँको भनाइ छ । आयोडिनले खराब ग-यो भन्ने सूचना बाहिर ल्याउनु गलत भएको डा. भट्टराईले बताउनुभयो । “नियमन सरकारले गर्नुपर्छ, नुनको बजारीकरण वा व्यापारले होइन,” उहाँले थप्नुभयो, “आयोडिन पुगेन भने सुस्त मनस्थिति र गलगाँडजस्ता रोग देखापर्छन् ।” नुनमा मिसाइएको आयोडिन भण्डारण गर्दा उडेर जान्छ, पकाउँदा त्यसको मात्रा घट्ने अवस्था रहने भएकाले आयोडिनले थाइराइड गराउन सक्ने भन्दै अहिले प्रचार भएजस्तो आयोडिनको मात्रा बढी नभएको उहाँको भनाइ छ । 

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीले नुनमा आयोडिन थपेर राखेको हुने र खुला नुनमा आयोडिन नहुने बताउनुभयो । उहाँले नुनको प्याकेट एक केजी बनाउनुका कारण पनि नुन खाएर छिटो सकियोस् र आयोडिनको मात्रा पुगोस् भनेर बनाइएको बताउनुभयो । उहाँले आयोडिन नुनलाई छोपेर राखेको छैन भने त्यसभित्र भएको आयोडिन सकिँदै जाने र आयोडिन नपुग्ने उहाँको भनाइ छ । 

दैनिक पाँचदेखि १० ग्राम नुन प्रयोग गर्न सकिने उहाँको सुझाव छ । नुनको मात्रा बढी खाने भएकाले अलिकति धेरै नुन खाइन्छ कि भनेर सचेत गराइएको मात्र हो, अधिकारीले भन्नुभयो, “नुनमा भएको आयोडिन बढी भयो भने यसले कुनै गलगाँड निकाल्दैन । समस्या भनेको कम आयोडिनको हो, बढी आयोडिनको समस्या हुँदै होइन ।” 

साल्ट ट्रेडिङ कर्पोरेसनका महाप्रबन्धक उर्मिला श्रेष्ठले नुनमा आयोडिनको मात्रा साल्ट ट्रेडिङले मिलाउने नभई सरकारले त्यसको मापदण्ड तोकिदिने बताउनुभयो । उहाँले सरकारको मापदण्डअनुसार नेपालको नुनमा ५० पीपीएम आयोडिनलाई मान्यता दिएको बताउनुभयो ।