नेपालगन्ज समाचारदाता
नेपालगन्ज, वैशाख ८ गते । बाँके जिल्लामा विद्युत्को सबैभन्दा कम पहुँच भएको नरैनापुर गाउँपालिकामा नवीकरणीय सौर्य ऊर्जा उत्पादनका लागि भारतीय लगानीकर्ताले पहल गरेका छन् ।
सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित परियोजना सञ्चालन गर्न आएका भारतीय लगानीकर्तासँग विस्तृत छलफल गरिएपछि उनीहरूले सुरुमा १० मेगावाट सौर्य ऊर्जा उत्पादनका लागि लगानी गर्ने जानकारी गराएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।
छलफलमा नरैनापुर गाउँपालिकाका अध्यक्ष शाह, लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णा केसी, खजुरा गाउँपालिका–२ का वडाध्यक्ष धनीराम ओली, सौर्य ऊर्जाका विज्ञ भरत विश्वकर्मा र नरैनापुरका प्रेसविज्ञ आलम खान सहभागी हुनुभएको थियो ।
छलफलमा नरैनापुरसहित बाँके जिल्लालाई आधार बनाएर सौर्य प्रणालीबाट ऊर्जा उत्पादन गर्न करिब ७० करोड रुपियाँ लगानी गर्न इच्छुक रहेको भारतीय लगानीकर्ता रोहनराज हेडजेले जानकारी गराउनुभएको नरैनापुरका प्रेसविज्ञ आलम खानले बताउनुभयो । भारतीय लगानीकर्ता हेडजेले सरकारीस्तरबाट सहज रूपमा समन्वय भए आफूहरूले निकट भविष्यमा नै नरैनापुरबाट सौर्य ऊर्जा उत्पादन गर्ने बताउनुभयो ।
उक्त परियोजनाबाट सुरुमा १० मेगावाट सौर्य ऊर्जाबाट वार्षिक एक करोड ७६ लाख १० हजार युनिट बिजुली उत्पादन गरी सिधै ग्रिडमा जोड्ने योजना रहेको लगानीकर्ताको भनाइ छ ।
बाँकेको सबैभन्दा पिछडिएको क्षेत्र नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका विषयमा भएको छलफल निकै सकारात्मक रहेको जनाउँदै लुम्बिनी प्रदेशका पूर्वमन्त्री केसीले उक्त परियोजना सञ्चालन गर्न सके नरैनापुर मात्र नभएर राप्तीसोनारी र डुडुवा गाउँपालिकाका नागरिकलाई कृषिलगायतको व्यवसाय गर्न सहज हुने बताउनुभयो ।
नरैनापुर बाँके जिल्लाको मात्र नभई यस क्षेत्रकै सबैभन्दा पिछडिएको क्षेत्र भएकाले यहाँ सौर्य ऊर्जा उत्पादन गर्न सके यस पालिकाको मुहारनै फेरिने स्थानीय बासिन्दाको विश्वास छ ।
एकीकृत रूपमा जग्गा उपयोगमा ल्याउन नयाँ परियोजना ल्याएर आम्दानीको स्रोत कायम गर्न विदेशी लगानीकर्तासँग सहकार्य गर्न नरैनापुर गाउँपालिका अघि बढेको गाउँपालिकाले जनाएको छ । नरैनापुरमा रहेको खाली जग्गालाई एकीकृत रूपमा सबै जग्गा उपभोगमा ल्याउन विदेशी लगानीकर्तासँग सहकार्य गर्न छलफल अघि बढाएको नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले बताउनुभयो ।