काठमाडौँ, वैशाख ७ गते । साविक विजेता ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को उपाधि रक्षाको बाटोमा उभिएको छ ।
दशरथ रङ्गशालामा भएको पहिलो क्वालफिायरमा ललितपुरले धनगढी एफसीलाई २–१ गोलले हरानउँदै फाइनलमा स्थान बनाएको हो । तीन वटा रातो कार्डसहित तनावले भरिपूर्ण खेलमा ललितपुरलाई जिताउन दुवै गोल विदेशी खेलाडीबाट सम्भव भयो ।
ललितपुरका लागि कर्भन्स बाल्फोर्टले ५७औँ र पापा इबो केबेले ७९औँ मिनेटमा गोल गर्नुभयो । धनगढीका लागि जर्जफ्रिन्स कार्कीले ६१औँ मिनेटमा गर्नुभएको गोल सान्त्वना बनेको थियो । ललितपुर १६औँ मिनेटमा १० खेलाडीमा समेटिएर पनि जित निकाल्न सफल भएको हो ।
बल नियन्त्रणमा लिने प्रयास गर्दा मणिकुमार लामा धनगढीका मोहम्मद अल जाओनीसँग ठोकिएको अवस्थामा मणिलाई रेफ्रीले सोझै रातो कार्ड दिनुभएको थियो । तर, धनगढीले त्यसको फाइदा उठाउन सकेन ।
हारेपनि धनगढीलाई दोस्रो क्वालिफायर खेल्ने मौका छ । उसले दोस्रो क्वालिफायरमा एफसी चितवन र पोखरा थन्डर्स एफसीबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । लिग अन्तर्गत आइतबार इलिमिनेटरमा एफसी चितवन र पोखरा थन्डर्सबिच प्रतिस्पर्धा हुँदैछ ।