• १४ असार २०८१, शुक्रबार

रुकुम–पश्चिमका कार्यपालिकाले पाए पूर्णता

blog

राजु लामिछाने

रुकुम पश्चिम, जेठ २३ गते । रुकुम पश्चिमका ६ वटै स्थानीय तहका कार्यपालिकाले पूर्णता पाएको छ । पछिल्लो पटक मुसीकोट नगर कार्यपालिकाले पूर्णता पाएसँगै जिल्लाका सबै स्थानीय तहको कार्यपालिका पूर्णता पाएका हुन् । 

मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलका अनुसार जिल्लाका तीन नगरपालिकामा आठ–आठ जना र तीन गाउँपालिकामा ६–६ जना कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । वैशाख ३० गते भएको स्थानीय तह दोस्रो निर्वाचनपछि आएका जनप्रतिनिधि बाहेक कार्यपालिका सदस्यका लागि पनि निर्वाचन गर्नुपर्ने प्रावधान छ । 

प्रत्येक नगरपालिकामा पाँच जना महिला सदस्यबाट र ३ जना दलित अल्पसंख्यकबाट गरी आठ जना नगर कार्यपालिकामा निर्वाचित भएका छन् । तीन गाउँ पालिकामा भने चार जना महिला सदस्यबाट र २ जना दलित, अल्पसंख्यक कोटाबाट गरी ६–६ जना निर्वाचित भएका छन् । 

मूख्य निर्वाचन अधिकृत पौडलेले जिल्लाका ६ वटै स्थानीय तहको कार्यपालिका सदस्यमा ४२ जना निर्वाचित भएको बताउनुभयो । जसमा माओवादी केन्द्रका उम्मेदवार मात्रै निर्वाचित भएका छन् । कार्यपालिका सदस्यमा मुसीकोट र आठबीसकोट नगरपालिकामा मात्रै निर्वाचन भएको थियो । निर्वाचनबाट पनि माओवादीका उम्मेदवार निर्वाचित भएका थिए । अरु चार स्थानीय तहमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । जिल्लाका सबै स्थानीय तहका कार्यपालिकामा माओवादी केन्द्र बहुमतमा छ । 

मुसीकोट नगरप्रमुख नेपाली कांग्रेस, उपप्रमुख एकीकृत नेकपा समाजवादी र बाँफिकोट गाउँपालिका अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । चौरजहारी र आठबीसकोट नगरपालिकाको प्रमुख, उपप्रमुख, सानीभेरी र त्रिवेणी गाउँ पालिकाको अध्यक्ष, उपाध्यक्ष र बाँफिकोट गाउँपालिका उपाध्यक्ष माओवादी केन्द्रले तिजेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समिति रुकुम पश्चिमको निर्वाचन मिति पनि तोकेको छ । कार्यालयले जेठ ३१ गते निर्वाचन हुनेगरी निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक सूचनाअनुसार जेठ २३ गते मतदाता नामावली प्रकाशन हुनेछ । २४ गते मतदाता नामावली सच्याउन वा छुटेका नामावली समावेश गर्न पाइने छ । २५ गते मतदाता नामावलीउपर उजुरी गर्ने, उजुरीउपर जाँचबुझ गर्ने र सोही दिन नै अन्तिम मतदाता नामावली प्रकाशन गरिने कार्यक्रम छ । २६ गते मनोनयन दर्ताको कार्यक्रम तोकिएको छ । सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।

२७ गते उम्मेदवारउपर उजुरी गर्ने समय राखिएको छ । २८ गते मनोनयनपत्रको जाँचबुझ र उजुरीउपर छानविन गरिनेछ । २८ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । २९ गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यतालिका राखिएको छ । ३० गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र ३१ गते मतदानको कार्यतालिका छ ।

जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख र ७ जना सदस्य गरी ९ जना निर्वाचित हुनेछन् । जिल्ला समन्वय समितिको निर्वाचनका लागि १२ जना मतदाता छन् । ६ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षले जिल्ला समन्वय समितिको निर्वाचनमा मत हाल्न पाउँछन् ।