• ४ साउन २०८१, शुक्रबार

उडानसम्बन्धी निर्णय यथावत्

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २३ गते । विमान दुर्घटनाको जोखिम न्यूनीकरणका लागि मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिइने निर्णय यथावत् रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणले जेठ १६ गते हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि विमान उड्ने र पुग्ने स्थानबीचको उडान मार्ग (इनरुट) को मौसम अनुकूल नभएमा उडान अनुमति नदिने निर्णय गरेको थियो ।तारा एयरको विमान मौसम खराबीले दुर्घटनामा परेको प्रारम्भिक निष्कर्ष निकाल्दै प्राधिकरणले उडानमा कडाइ गरेको थियो । 

केही सञ्चार माध्यममा इनरुटको मौसम सफा नभएसम्म उडान अनुमति नदिने निर्णयबाट प्राधिकरण पछि हटेको भन्ने सम्बन्धमा आएका समाचारमा कुनै सत्यता नरहेको जनाउँदै प्राधिकरणले जेठ १७ गतेदेखि गरिएको कडाइ कायमै रहेको जनाएको छ । 

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भिजुअल फ्लाइट रुल्स (भीएफआर) बाट उडान गर्ने विमान र विमानस्थलमा मौसमसम्बन्धी जानकारी लिएर मात्रै उडान भर्न दिएको निर्देशन यथावत् रहेको बताउनुभयो । 

यसअघि विमान उड्ने विमानस्थल र विमान पुग्ने विमानस्थलको मौसम सफा भएमा उडान अनुमति दिइँदै आए पनि १२ हजार फिटको हाराहारीमा उड्ने विमानलाई बादलभित्र छिर्न नदिन कडाइ कायमै रहेको उहाँको भनाइ छ ।

हवाई सुरक्षासम्बन्धी विषयमा कुनै सम्झौता हुन नसक्ने बताउँदै उहाँले जल तथा मौसम विज्ञान विभागले इनरुटको मौसम सफा भएको जानकारी दिएपछि मात्र उडान अनुमति दिँदै आएको बताउनुभयो ।

विमानस्थलस्थित जल तथा हवाई मौसम पूर्वानुमान शाखाले पनि जेठ १८ यता काठमाडौँबाट पोखरा, लुक्ला, भरतपुर र सुर्खेत उडान भर्दा मौसमसम्बन्धी जानकारी लिँदै आएको जनाएको छ । 

नेपालमा उपकरणमा आधारित रहेर उडान भर्ने सुविधा काठमाडौँ, विराटनगर, नेपालगन्ज, चन्द्रगढी, भैरहवा, सिमरा, जनकपुर र राजविराज विमानस्थलमा मात्र छ ।वायुसेवा सञ्चालक सङ्घले भने मौसम पूर्वानुमान महाशाखाले इनरुटको मौसमसम्बन्धी जानकारी दिन नसकेका कारण पूर्वयथावत रूपमा हवाई सेवा दिन थालेको जनाएको छ ।