• ३१ चैत २०८१, आइतबार

नेपाल ब्यायाम मन्दिरद्वारा गोरखापत्रकर्मी रेग्मीसहित पाँच पत्रकार सम्मानित

blog

सम्मानित भएपछि सञ्चारकर्मीहरू ।

काठमाडौँ, चैत ३० गते । नेपालकै जेठो जिम नेपाल ब्यायाम मन्दिरले गोरखापत्र अनलाइन समाचारदाता गोविन्द रेग्मीसहित पाँच जना सञ्चारकर्मीलाई सम्मान गरेको छ ।

नेपाल ब्यायाम मन्दिरद्वारा शनिबार आयोजित आठौँ निलकण्ठ मानन्धर स्मृति पावरलिफ्टिङ प्रतियोगिता तथा नयाँ वर्ष–२०८२ को शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा विभिन्न सञ्चारमाध्यममा क्रियाशील पाँच सञ्चारकर्मीलाई  सम्मान गरिएको हो । 

कार्यक्रममा गोरखापत्र अनलाइनका गोविन्द रेग्मीसँगै मेरोखेल डट कमका प्रधान सम्पादक श्रीविक्रम भण्डारी, नयाँ पत्रिका राष्ट्रिय दैनिकका श्रीलोचन राजोपाध्याय, सेतोपाटी अनलाइनका सिताराम कोइराला र अनलाइन खबर डट कमका गोबिन्दराज नेपाल सम्मानित हुनुभएको हो । सम्मानित सञ्चारकर्मीहरूलाई जनही १० हजार रुपियाँसहित सम्मान–पत्र प्रदान गरिएको छ ।


ब्यायाम मन्दिरले लामो समयदेखि पत्रकारितामार्फत खेलकुदको विकास र विस्तारमा योगदान गर्नुका साथै आफ्नो लेख र समाचारमार्फत नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने नेपालकै सम्मानित र पुरानो प्रतियोगिता धर्मश्रीको प्रचार प्रसारमा योगदान गरेबापत सम्मान गरेको हो । 

कार्यक्रममा शारीरिक सुगठन तथा ब्यायाम मन्दिरको विकास र विस्तारमा लामो समय देखि योगदान पुर्‍याउँदै आउनुभएका पूर्व एआइजी विजयलाल कायस्थलाई ५५ हजार पाँच सय ५५ रुपियाँसहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो ।

वि.सं २०३८ सालदेखि नेपाली बडी बिल्डिङ क्षेत्रमा सक्रिय उहाँ नेपाल बडी बिल्डिङ महासङ्घका प्रथम उपाध्यक्ष समेत हुनुहुन्छ । यस्तै कार्यक्रममा ब्यायाम मन्दिर सन्तती सम्मानबाट अनुष्का श्रेष्ठ, रोजिन नकर्मी र रोबर्ट श्रेष्ठलाई पनि सम्मान गरियो । 

कार्यक्रमका प्रमुख अतिथी काठमाडौँ महानगरपालिकाका प्रवक्ता तथा कामपा १७ वडा अध्यक्ष नवीन मानन्धर, नेपाल ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान, ब्यायाम मन्दिर सल्लाहकार समितिका संयोजक एवं प्रथम मिस्टर नेपाल शिवलाल श्रेष्ठले सम्मान गर्नुभयो ।