कास्की, चैत २९ गते । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा डिफेन्डीङ च्याम्पियन मधेश प्रदेश कर्णालीसामु निरीह बनेको छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रङ्गशाला क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ‘सी’ तर्फको पहिलो खेलमा कर्णाली एकेडेमीले मधेश प्रदेश क्रिकेटलाई १५ रनले हराएको हो । प्रतिकुल मौसमका कारण ओभर घटाएर १७ मा झारिएको थियो ।
१४६ रनको विजयी लक्ष्य पछ्याएको मधेश प्रदेशले कुल १७ ओभरमा ६ विकेट गुमाउँदै १३० रनमा समेटियो । मधेशका लागि दिपेश दासले सर्वाधिक ४५ रनको योगदान दिएपनी जित दिलाउन सक्नुभएन ।
यस्तै अभिषेक कार्की २२ रनमा अविजित रहनुभयो । रुपेश सिंहले १७, अरनिको यादवले १ र विशाल शुस्लिङले १२ रन बनाउनुभयो । बलिङमा कर्णालीका लागि सुवास भण्डारी र दिपेन्द्र यादबले दुई दुई विकेट लिनुभयो । कृष्ण कार्की र अरुण ऐरिले एक एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ थालेको कर्णाली एकेडेमी १७ ओभरमा १४५ रन बनाउदै अलआउट भएको थियो । कर्णालीका लागि हिमांशु शाहिले सर्वाधिक ३८ रनको योगदान दिनुभयो ।
विपिन शाहिले २४, राजप्रसाद शाहले १६ र अरुण ऐरीले १३ रन बनाउनुभयो । बलिङमा मधेशका लागि रुपेश सिंहले चार विकेट लिनुभयो । अभिषेक कार्कीले तीन, विशाल पटेलले दुई तथा प्रदिप पासवानले एक विकेट लिनुभयो ।
मौसमकै कारण दोस्रो खेल रोकिदा हिमाल फ्रेन्ड्स क्रिकेट क्लबले लुम्बिनी खुकुरी क्रिकेटलाई डकवर्थ–लुइस नियम (डीएल) मेथडअनुसार १३ रनले हराएको छ । वर्षाको कारण खेल हुन नसकेपछि डीएल मेथडबाट हिमाल फ्रेन्ड्सले जित हासिल गरेको हो ।
यसअघि टस जितेर ब्याटिङ थालेको हिमाल फ्रेन्ड्सले ११ ओभरमा पाँच विकेट गुमाउँदै १०६ रन बनाएको थियो ।