• १९ असार २०८१, बुधबार

मलका कारण खेत बाँझै राख्नुपर्ने चिन्ता

blog

बोदेबर्साइन समाचारदाता 

बोदेबर्साइन (सप्तरी), जेठ २३ गते । धानखेतीको सिजन आउनै लाग्दा सप्तरीका किसान मल नपाएर भौँतारिरहेका छन् । विगत एक महिनादेखि आफ्नो गाउँको आधा दर्जन बढी सहकारी डिलर हुँदै सदरमुकामको कृषि सामग्री केन्द्रसम्म धाउनुभएका जिल्लाको विष्णुपुरका हरिनारायण मण्डल भन्नुहुन्छ, “एक त मल पाइँदैन, पाए पनि २२ सय सरकारी दर पर्ने एक बोरा डीएपी ३५ सयदेखि चार हजारसम्ममा किन्नुपरेको छ । समयमा मल र बीउ नपाएरै गहुँ रोप्न सकेनौँ । फेरि समयमा धान खेती लगाउन नपाउने हो कि ।”

स्थानीय सरकारमा नयाँ जनप्रतिनिधि जितेर आएसँगै यहाँका प्रायः अधिकांश पालिका अध्यक्षले कृषि क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गरिरहे पनि समाधानतर्फ सक्रियता देखिएन । जिल्लाका किसान एक बोरा मलका लागि महिनौँसम्म दर्जनौँ निकाय पुग्छन् तर एक किलो वा एक बोरा मल नपाएर दिनभरि भौँतारिएर बेलुकी रित्तै हात फर्किनुपरेको यहाँका किसान बताउनुहुन्छ ।

धान खेती लगाउने बेला आयो । फेरि पनि मलखाद र बीउबिजन नपाएको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका कृषक डिकबहादुर मगरले भन्नुभयो । मल लिन जाँदा अहिलेको बालीमा लगाउनै नमिल्ने पोटास मात्रै दिन्छ । त्यो के गर्ने, हामीलाई धान र मकैमा लगाउन युरिया र डीएपी चाहिएको छ, जुन लामो समयदेखि नपाएको जिल्लाको मोहनपुरका कृषक लक्ष्मीदेवी विशुङ्खे बताउनुहुन्छ । पहिला २०–२५ रुपियाँ प्रतिकिलो पाउने मल अहिले पाउँदै नपाउने, पाए पनि ६०–८० रुपियाँ प्रतिकिलोमा दिइने गरेको सरिता परियारले बताउनुभयो ।

कृषि सामग्री केन्द्र सप्तरीमा धेरैजसो सिजनअनुसार बालीमा लाउन नहुने मल छ भने भएको पाँच सय बोराजति डीएपी मल आवश्यकता नभएका यहाँका एकाध डिलरले मलको कृत्रिम अभाव गराउने मनसायले महिनौँदेखि बैङ्क भौचर कटाएर राखेका हुन्छन् तर न मल लामो समयसम्म लान्छन् न आवश्यक डिलरलाई लग्न पाउने बाटो छोडेका छन् । 

यदि बेच्नैप¥यो भने गाडी भाडा पनि बचाउँदै किसानलाई खुद्रामा नबेचेर केन्द्रबाटै त्यस्ता बाठा डिलरले अर्को डिलरलाई फाइदा लिई बेच्ने गरेको बताउँछन्। डिलरहरूले यसरी कालोबजारी गरिरहँदा नियमनकारी निकाय भने मौन रहेको अग्निसाइर कृष्णासवरण–५ का एक मलखाद डिलर सञ्चालकले सुनाउनुभयो । २५० भन्दा बढी मलखाद डिलर रहेको सप्तरीमा  डिलरको मनग्गे नाफा कमाउने उद्देश्यका कारण समयमा मल नपाइरहेको महदेवा–४ का सनत मण्डलले गुनासो गर्नुभयो ।

सप्तरीमा हाल ३५ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको कृषि ज्ञान केन्द्र सप्तरीको तथ्याङ्कले देखाउँछ । जिल्लाको ३५ हजार हेक्टर जमिनमा धानखेती गर्नका लागि साउनमा मात्रै ३० हजार मेट्रिक टन मल खपत हुने देखिन्छ । सरकारले ७० प्रतिशत कृषि सामग्री केन्द्र र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेसनलाई मल बिक्रीको जिम्मेवारी दिइएको छ । जिल्लामा खपत हुने परिमाणको एक हिस्सा पनि मल आपूर्ति नभएको सरोकारवाला बताउँछन् ।