काठमाडौँ, चैत २७ गते । भूकम्पबाट क्षतिग्रस्त बनेको म्यानमारमा चिकित्सकसहित पुगेको नेपाली स्वास्थ्य शिविरमा बिरामीको चाप बढेको छ ।
यही चैत १५ गते बिहान ६:२१ बजे म्यानमारको राजधानी नोपिडको पूर्व शाही राजधानी सहर मन्डलेलाई केन्द्रबिन्दु बनाएर ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । यस भूकम्पमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघेको छ । सो भूकम्पमा परी झन्डै १० हजार जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मित्रराष्ट्र म्यानमारमा गएको उक्त विनाशकारी भूकम्पमा परी घाइते भएकालाई राहत तथा उपचारका लागि नेपाल सरकारले विशेषज्ञ चिकित्सकसहितको मेडिकल टोली खटाएको छ । सरकारको निर्णय अनुसार नेपाली सेनाले यही चैत २० गते विपत् व्यवस्थापन अन्तर्गतको टोली म्यानमार पठाएको थियो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय अनुसार नेपाली सेनाको चिकित्सक टोलीले मन्डलेस्थित यामाथिन सरहमा मेडिकल शिविर स्थापना गरी घाइतेको उपचारमा खटिएको छ ।
टोलीमा विशेषज्ञ शल्य चिकित्सक प्राविधिक प्रमुख सेनानी डा. विकासबहादुर रायमाझी, हाडजोर्नी विशेषज्ञ प्राविधिक प्रमुख सेनानी डा. मोहित थापालगायत मेडिकल अधिकृत, नर्स तथा प्यारामेडिक रहनुभएको छ । निर्देशनालयका अनुसार हालसम्म उक्त मेडिकल टोलीले सात सय जनाभन्दा बढी भूकम्पपीडितको उपचार गरी मेडिकल राहत सामग्री उपलब्ध गराएको छ । यसक्रममा गम्भीर घाइते ६० जनाभन्दा बढीको जटिल शल्यक्रिया र ९० जनाभन्दा बढीको हाडजोर्नी उपचार गरिसकेको छ ।
सो टोलीले हालसम्म ५५० जना बिरामीलाई ओपिडी सेवा प्रदान गरेको छ । नेपाली सेनाले जटिलप्रकारका बिरामीको शल्यक्रियाका लागि स्थानीय सरकारको आग्रहमा यामाथिन ‘डिस्ट्रिक’ अस्पतालमा पनि चिकित्सक खटाई जटिल शल्यक्रिया सेवा पनि सुरु गरेको छ । नेपालीभाषीको समेत बसोवास रहेको म्यानमारको मन्डले सहरमा स्थापना गरिएको नेपाली स्वास्थ्य शिविरबाट प्रदान गरिएको सहज र गुणस्तरीय स्वास्थ्य सेवाका कारण पछिल्लो समय बिरामीको चाप बढेको बताइएको छ ।
उपचारमा संलग्न चिकित्सकले दिएको जानकारी अनुसार स्वास्थ्य शिविरमा दैनिक ३०० देखि ३५० सम्म बिरामी आउने गरेका छन् । सरकारले एक हप्ताका लागि पठाएको मेडिकल टोली आगामी हप्ता फर्किने कार्यतालिका छ । भूकम्प प्रभावित क्षेत्रमा नेपालसहित विभिन्न देशले स्वास्थ्य टोली खटाएको भए पनि नेपाली स्वास्थ्य शिविरमा बिरामीको चाप बढेपछि स्थानीय सरकारले अनौपचारिक रूपमा म्याद थपका लागि आग्रह गरेको छ । भूकम्पले झन्डै पाँच करोड मानिस बसोवास गर्ने म्यानमारको अधिकांश भागलाई प्रभावित पारेको छ । राजधानी नोपिडसहित अन्य छ क्षेत्र र राज्यमा उल्लेखनीय क्षति पुगेको छ । करिब १५ लाख मानिस बसोवास गर्ने मन्डलेको नजिक भूकम्पको केन्द्रबिन्दु रहेका कारण बौद्ध गुम्बा, प्राचीन दरबार, घर, कार्यालय, मस्जिदमा ठुलो क्षति पुगेको जनाइएको छ ।