• १३ वैशाख २०८१, बिहिबार

हुलाकी सडकको काम सुस्त

blog

पूर्व–पश्चिम हुलाकी सडकमा पर्ने सर्लाहीको ब्रह्मपुरी गाउँ । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, जेठ २२ गते । सर्लाहीमा पूर्व–पश्चिम हुलाकी सडक निर्माणको कामले गति लिन सकेको छैन । हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरले सर्लाहीमा सङ्ग्रामपुरस्थित बाँके खोलादेखि पश्चिमी भेग बलरास्थित बागमती नदीसम्मको हुलाकी सडक तीन खण्डमा ठेक्का लगाइ निर्माणको काम गराइरहेको छ । 

हुलाकी सडकमा पर्ने गोडैता नगरपालिका–९ का स्थानीय रञ्जित यादवले सडकको निर्माण निकै सुस्त गतिमा अघि बढेको बताउनुभयो । वर्षौंदेखि जीर्ण अवस्थामा रहेको हुलाकी सडकको निर्माण कार्य पूरा नहुँदा दक्षिणी भेगका नागरिकले सास्ती खेप्दै आइरहेका छन् । हिउँदमा धुलाम्मे हुने यो सडक केही दिनदेखि निरन्तर वर्षा भइरहँदो हिलाम्मेभएको छ । 

जिल्लाको कौडेना गाउँपालिकाका अध्यक्ष रूपेश कुमारले यो पटक हुलाकी सडक बन्ने आश पलाएको बताउनुभयो । सङ्घीय सरकार मातहतपर्ने यो सडकको निर्माण यो पटक जसरी पनि पूरा गराउन आफूहरूले पनि दबाब दिने उहाँ बताउनुहुन्छ ।  

हुलाकी सडक निर्माणका लागि यहाँका बासिन्दाले लामो समयदेखि दबाब दिँदै आइरहेका छन् । सडक निर्माणमा दबाब सिर्जना गर्ने उद्देश्यले गत वर्ष जिल्लाका सांसद, पालिका प्रमुख, नागरिक समाजका अगुवालगायत धर्नामा बसेका थिए ।  सरकारका मन्त्रीहरूले पटक–पटक जिल्ला आएर आश्वासन दिँदासमेत हुलाकी सडकको अवस्था उस्तै रहँदा यहाँका बासिन्दा निराश भइरहेका छन् ।

हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरका प्रमुख कृष्णकुमार महतोले हुलाकी सडक निर्माणको कामअघि बढेको दाबी गर्नुभयो ।  कार्यालय प्रमुख महतोले बाँके र बागमती दुवैतर्फबाट केही किलोमिटर सडक कालोपत्रेसमेत भइसकेको जानकारी दिनुभयो । उहाँले जेठ अन्तिमतिर सडक निर्माणको गति देखिने बताउनुभएको छ ।