• ११ पुस २०८१, बिहिबार

बाँच्न पाउने अधिकारको सुरक्षा

blog

जुन ५ मा संसारभर विश्व वातावरण दिवस मनाउने प्रचलन छ । पृथ्वीको वातावरण संरक्षणका लागि संवेदनशील भई काम गर्ने जनचेतना बढाउन संयुक्त राष्ट्रसङ्घको पहिलो पाइलाका रूपमा यसलाई लिइन्छ । १९७२ को जुन ५ देखि १६ सम्म स्विडेनको स्टकहोममा भएको मानव वातावरणसम्बन्धी विश्वको पहिलो ठूलो सम्मेलन राष्ट्रसङ्घको अगुवाइमा भएको थियो, जसको उद्देश्य बिग्ँदो मानव वातावरणलाई सुरक्षित राख्न आइपरेका चुनौती कसरी सम्बोधन गर्न सकिन्छ भन्ने हो । सर्वप्रथम अमेरिकाको स्पोकान भन्ने ठाउँमा ‘केवल एउटा पृथ्वी’ भन्ने नाराका साथ यो दिवस मनाउन सुरु गरिएको थियो । 

यस धर्तीमा भएका जीवित वनस्पति र प्राणी जगत्को संरक्षणबाट मानव जगत्का लागि बस्नयोग्य सुन्दर पृथ्वी बनाउने उद्देश्य राखिएको हुन्छ । ‘एउटा पृथ्वी, धेरै प्रजाति र एउटा भविष्य’ २०१० को नारा थियो । सात अर्ब मानिसका लागि एउटा पृथ्वी विचार गरी उपभोग गरौँ, अवैध वन्यजन्तु व्यापारका लागि शून्य सहनशीलता अपनाऔँ, मानिसलाई प्रकृतिसँग जोडौँ, पलास्टिक, प्रदूषण तथा वायु प्रदूषणको अन्त्य गरौँ भन्ने नारा २०११ देखि २०१९ सम्मका दिवसमा लगाइँदै आइएको छ । २०२० मा यो दिवसलाई औपचारिक रूपमा मनाउन जर्मनीको सहकार्यमा कोलम्बियाले जिम्मा लिएको थियो । २०२१ मा यो दिवसलाई विश्वका हिमाली क्षेत्रदेखि समुद्रको सतहसम्मका लाखौँ हेक्टर वन क्षेत्र तथा कृषि क्षेत्रको पारिस्थितिकीय प्रणाली पुनस्र्थापना गर्ने उद्देश्यका साथ मनाइएको थियो । जसको नारा ‘पारिस्थितिकीय प्रणाली पुनस्र्थापना’ भन्ने रहेको थियो । 

वातावरण दिवस मनाउन सुरु गरेको ५० वर्ष पुगेको अवसरमा २०२२ को जुन ५ मा भव्य रूपमा मनाउन आयोजकको जिम्मा फेरि स्विडेनले लिएको छ, जसको नारा पुनः ‘केवल एउटा पृथ्वी’ रहेको छ । यसको उद्देश्य दिगो जीवनका लागि प्रकृतिसँग मिलेर बसौँ भन्ने राखिएको छ । नेपालले पनि यो दिवस विभिन्न सङ्घसंस्थाको सहकार्यमा विविध कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ । प्रकृतिक स्रोतको दिगो सदुपयोग गर्दै वातावरण संरक्षण गर्नुपर्छ, प्रकृतिसँग हाम्रो कस्तो सम्बन्ध हुन्छ, यसको संरक्षण नगर्दा कस्ता विपत् सामना गर्नुपर्छ, हाम्रो जिम्मेवारी के हो भन्ने जनचेतना फैलाउन आवश्यक छ । 

यही उद्देश्य राखेर प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्गठन नेपालले पनि यससँग सहकार्य गर्ने संस्थाहरू, स्थानीय उपभोक्ता समूहसँंगै मिलेर मनाउँदै आएको छ । चेतनामूलक जुलुस प्रदर्शन तथा विभिन्न कलेज, स्कुल तथा साहित्यकारका बीच विभिन्न प्रतिस्पर्धी प्रतियोगितात्मक कार्यक्रम सञ्चालन, सरसफाइ तथा वृक्षरोपण गर्ने चलन पनि देखिन्छ । जसले प्रकृति संरक्षणमा सकारात्मक काम गर्न चेतना फैलाउने काम गर्न सक्छ । नेपालले नारा तय गर्दा ‘हिमालको रक्षा गरौँ र वातावरण संरक्षण गरौँ’ भन्नेमा जोड दिएको हुन्छ । नेपाललाई चिनाउने विश्वको शिर सगरमाथादेखि अन्य हिमशृङ्खलाहरूले पृथ्वीको वातावरण बिग्रँदा यसमाथि कस्तो असर परेको छ भन्ने सङ्केत दिइसकेका छन् ।

हाम्रो ब्रह्माण्डमा धेरै ग्रह तथा नक्षत्र भए पनि हाम्रो पृथ्वी एउटा मात्र छ, जसले आफ्नो क्षमताभन्दा तीन गुना बढी लोड थाम्नु परेको छ । विकसित देशमा भएका औद्योगिक क्रान्ति, बढ्दो जनसङ्ख्या, वन विनाश, सहरीकरण, आणविक भट्टीहरूको स्थापना र सुविधाजनक जीवनशैलीका कारण अत्यधिक मात्रामा कोइला र पेट्रोलियम पर्दाथको प्रयोगबाट कार्बन उत्सर्जनका साथ साथै हानिकारक हरितगृह ग्यासहरू (कार्बनडाइअक्साइड, नाइट्रिक अक्साइड, मिथेन, हाइड्रोफ्लोरोकार्बन, परफ्लोरोकार्बन, सल्फरहेक्जाफ्लोराइड र पानीका वाष्पहरू) उत्पादन भई पृथ्वीको तापमान बढ्ने, वजन सतहमा प्वाल पार्ने क्रम तीव्र गतिमा छ । 

तापमान बढेसँगै यसबाट उत्पन्न जलवायु परिवर्तनका प्रभावबाट पर्न जाने नकारात्मक असर धेरै क्षेत्रमा देखिन थालेका छन् । जलवायु परिवर्तनका असरले मुख्यगरी वन तथा जैविक विविधता, जलस्रोत र ऊर्जा, कृषि तथा खाद्य सुरक्षा, मानव स्वास्थ्य र भौतिक पूर्वाधारजस्ता क्षेत्रमा प्रभाव पारेको देखिन्छ । राम्रो पारिस्थितिकीय प्रणालीले मात्र मानव जीवन र यसको जीविकोपार्जनलाई बढावा गर्न सक्दछ, जलवायु परिवर्तनको असरबाट अनुकूलित हुने क्षमता वृद्धि गर्न मद्दत गर्दछ । जैविक विविधता विनाश हुनबाट जोगाउँछ । 

जैविक विविधता हाम्रो जीवन हो, यिनीहरूको संरक्षण गर्न सकिएन भने मानवलगायत जीवित प्राणीको भलो हुन सक्दैन । विगत दुई वर्षयता विश्वले भोग्दै आएको विभिन्न खाले सरुवा रोग जस्तै– कोरोना भाइरस, जसले हामीलाई जीवनमरणको अवस्थाबाट आक्रान्त पारिरहेको छ । ती सबै मानिसकै अकर्मण्यताका कारण भएका हुन् । वन्यजन्तुको प्राकृतिक वासस्थान विनाश भई वन तथा जैविक विविधताको विनाशका कारण विगत एक दशकदेखि जलवायु परिवर्तनका केही स्वरूप हामीले देख्दै आएका पनि छौँ, कस्ता खतरनाक परिणाम भोग्नुपर्ने रहेछ भन्ने दृष्टान्तका प्रमाणहरू हामीसँग अझ धेरै छन् ।

नेपालको सन्दर्भलाई हेर्ने हो भने हरितगृह ग्यास उत्सर्जनमा ०.०२७ प्रतिशत मात्र भूमिका रहे पनि जलवायु परिवर्तनका असरबाट सबैभन्दा बढी पीडा नेपालले नै बेहोर्नुपरेको देखिन्छ । मनसुनी वर्षामा आधारित कृषि प्रणालीमा अतिवृष्टि र अनावृष्टिका कारण खाद्य असुरक्षा बढ्दो छ । चाँदीजस्तै टल्कने हिमशृङ्खला जसले नेपाललाई संसारमा चिनाउनुका साथै पर्यटन व्यवसायबाट राज्यलाई आर्थिक लाभ दिएका छन्, तिनको पग्लने क्रम जारी छ । यसबाट पर्यटन, ऊर्जा र जलस्रोतमा नकरात्मक असर परिराखेको महसुस गरिएको छ । सुक्खा खडेरीका कारण धेरैजसो पानीका मुहानहरू सुकेर पिउने पानीको अभावमा पहाडी क्षेत्रबाट बसाइँसराइ व्यापक छ । यसबाट तराईको वन तथा जैविक विविधता नाश हुने क्रम बढ्दो छ ।

वन व्यवस्थापनमा कमजोरीका कारण वन डढेलोले तीव्रता पाएकोे छ । नयाँनयाँ रोगहरूले मानव मात्र होइन, जनावर र वनस्पति जगत् आक्रान्त बन्न पुगको छ । बल्लतल्ल बनेका भौतिक पूर्वाधारहरू (जलविद्युत् आयोजना, बाटा, पुल र कल्भर्टजस्ता भौतिक संरचना) बाढीपहिरोको चपेटामा पर्दै आएका छन् । कहिले लामो सुक्खा खडेरी त कहिले अत्यधिक वर्षा अनि त्यसले निम्त्याउने विपत्तिहरू । भौगोलिक बनोटका हिसाबले पनि नेपाल प्राकृतिक प्रकोपका लागि जोखिमयुक्त छ । 

उच्च हिमालको बनोट ज्यादै कमजोर भएकाले कहिले हिउँ पहिरो जाने गर्दछ त कहिले हिमताल विस्फोटको सम्भावना रहन्छ । नेपालको पहाडी भू–भागमा रहेका कमजोर पहाडहरू अति नै अग्ला चुच्चो परेका र धेरै भिराला छन्, जसले गर्दा मनसुनको समयमा भारी वर्षा हुँदा पहिरो जाने गर्दछ । पहिरोले कतै नदी थुनिन पुग्दछन् त कतै बस्तीहरू नै पुरिन्छन् । नेपालमा भइरहने प्रकोपहरूमध्ये जल उत्पन्न प्रकोप धेरै विनाशकारी मानिन्छ, जसले पहिरो, बाढी, नदी कटान, खेतीयोग्य जमिन डुबानका साथै भौतिक संरचनाको क्षति गर्दछ । बर्सेनि लाखौँको जनधनका साथै चौपायाको पनि विनाश गर्ने गर्दछ । 

राजधानी काठमाडौँको वायुमण्डलमा वायुको गुणस्तर सूचकाङ्क –एम्युएआई) १५४ पुग्ने गर्दछ । स्वास्थ्य मानव स्रोतको अभावमा देशमा विकासका काम गर्न कठिनाइ पर्दछ, त्यसैमाथि हाम्रा कर्मठ युवा वैदेशिक रोजगारमा छन् र विविध कारणले स्वास्थ्यमा समस्या लिएर फर्कने गरेको देखिन्छ । हाम्रा जमिन बाँझोमा परिणत हुँदैछन्, हामी हरेक वस्तुमा परनिर्भरतातिर गइरहेका छौँ । हाम्रो उन्नति, प्रगति र हाम्रा सन्ततिको उज्ज्वल भविष्यका लागि प्रकृतिक स्रोतसाधनको अत्यधिक दोहन हुनबाट बचाउ गर्नु र यसको वातावरण संरक्षण गर्नु हामी मानव जातिको कर्तव्य र दायित्व हो । किनभने पृथ्वीको वातावरण बिगार्नमा यसमा बसोवास गर्ने सबैभन्दा बुद्धिमान भनिएको प्राणी मानिस नै जिम्मेवार छ । जलवायु परिवर्तन र वातावरण संरक्षणको विषयलाई आत्मसात् गर्दै विश्व वातावरण दिवस मनाउँदै गर्दा स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न यो सन्दर्भलाई मानव अधिकारसँंग जोड्न पनि आवश्यक छ । 

Author

मथुरा खनाल