• २१ चैत २०८१, बिहिबार

बौद्ध स्तूप घुम्दा

blog

शिवाङ्शी खड्का

कक्षाः४, बागमती बोर्डिङ सेकेन्डरी स्कुल

सुकेधारा, काठमाडौँ

जाडो, गर्मी वा अन्य बिदामा विभिन्न ठाउँमा घुम्न जाने गर्दछौँ । साथीहरू बौद्धनाथ क्षेत्र घुम्नुभएको छ ? हामीमध्ये धेरै जना घुमेकै हुनु पर्छ नभए फोटोमा देखेको र किताबमा त पक्कै पढेका छौ । जाडो बिदाको समयमा यस पटक बौद्ध घुम्न जाँदा स्तूपामा सेतो रङमाथि पहेँलो रङ छ्यापिरहेको देखेँ । ध्वजापताका पनि नयाँ हालिँदै थियो । 

म बौद्ध स्तूपका बारेमा थाहा पाएको केही कुरा लेख्दै छु । काठमाडौँमा रहेको बौद्धनाथ स्तूप नेपालकै सबैभन्दा ठुलो स्तूप हो । यसलाई चैत्य पनि भनिन्छ । जहाँ बौद्ध धर्म मान्नेदेखि अरू विभिन्न धर्म मान्ने मानिस पनि पुग्दछन् । विदेशी पनि धेरै जना घुम्न आएको भेटिन्छ तर यो बनेको ठ्याक्कै मिति भने कतै पनि पाइएन । गुगलमा खोज्दा पाँचौँ शताब्दीतिर बनेको भनिएको छ । बौद्धनाथ बनाउँदाको विभिन्न कथा पनि पढ्न पाइन्छ । यो विश्व सम्पदा सूचीभित्र पर्दछ । तपाईंले पुरानो फोटो हेर्नु भयो भने खेतको बिचमा देख्न सक्नुहुन्छ तर अहिले घरैघरको बिचमा छ । बौद्धनाथ स्तूप करिब १५ रोपनी जमिनमा फैलिएको छ । स्तूप ११४.८ फिट अग्लो रहेको छ । हामीले स्तूप वरिपरि घुमाउँदै हिँड्ने १४७ वटा खोपामा ६४९ माने रहेका छन् । स्तूपको माथिल्लो भागको चारैतिर आँखा र टीका देख्न सकिन्छ । जुन बुद्धले हेरे जस्तै लाग्दछ ।

त्यहाँ बिहानदेखि रातिसम्म प्रार्थना गर्ने, ‘ॐ मणि पद्मे हुम’ मन्त्र जप्दै माने घुमाउँदै वरिपरि घुम्नेहरूको घुइँचो हुन्छ भने बत्ती बाल्ने पनि धेरै हुन्छन् । ल्होसार, बुद्ध जयन्ती अनि अरू विभिन्न जात्रामा त्यहाँ मेला लाग्ने गर्दछ । स्तूप २०७२ सालको भूकम्पमा भत्किएपछि फेरि जस्ताको तस्तै बनाइएको हो । बौद्धनाथ वरपर पुग्नासाथ आनन्द आउँछ । तपाईं घुम्नुभएको छैन भने एक पटक पुग्नैपर्ने ठाउँ हो । पुगेपछि धेरै कुरा तपाईंले देख्न सक्नुहुने छ । अहिले माथि चढेर घुम्दा जुत्ता खोलेर मात्रै घुम्न पाइन्छ भने गएर बस्न पाइँदैन । फोटो, भिडियो खिच्दै घुम्न मात्रै पाइने नियम बनाइएको रहेछ । तपाईंले त्यहाँ बत्ती पनि बाल्न सक्नुहुने छ । परेवालाई चारो हालेर आनन्द लिन सक्नुहुने छ । स्तूप अगाडिको गुम्बाको छतबाट अझ राम्ररी देख्न सकिन्छ । स्तूप वरपर विभिन्न प्रकारका खानेकुरा खान र खेलौनादेखि कपडा पनि किन्न सक्नुहुने छ । बौद्ध घुम्दा पक्कै पनि तपाईंले नयाँ अनुभव गर्न पाउनुहुने छ । आनन्दको अनुभूति गर्न पाइने रहेछ ।    

   मुना