• २१ चैत २०८१, बिहिबार

शैक्षिक भ्रमणले चिनाएका दुई ठाउँ

blog

आर्सी पराजुली

कक्षाः ७, अक्सिडेन्टल पब्लिक स्कुल

अनामनगर, काठमाडौँ

विद्यालयले काठमाडौँको टौदह, चोभार र मञ्जुश्री पार्कको अवलोकन गर्न लगेको थियो । अवलोकनका क्रममा ती ठाउँको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महìवका बारेमा बुझ्ने मौका मिल्यो । भ्रमणका क्रममा हामी विद्यार्थीबिच आआफ्ना अनुभव साटासाट गर्ने अवसरसमेत मिलेको थियो । अवलोकन भ्रमणले मलाई पुस्तकमा पढेका कुरा व्यावहारिक रूपमा बुझ्न सहयोग पुगेको थियो । 

टौदह काठमाडौँको दक्षिण दिशामा पर्ने एउटा सानो ताल हो । टौदह दुई शब्दले बनेको छ । नेपाल भाषामा ‘टु’ को अर्थ सर्प र ‘दह’ को अर्थ ताल हुन्छ । अर्थात् यसलाई सर्पको ताल पनि भनिन्छ । यस दहलाई कर्कोटक नामका नागको वासस्थानका रूपमा लिइन्छ । परापूर्वकालमा काठमाडौँ उपत्यका विशाल पोखरी थियो भनेर हामीले पढेका थियौँ । पानी बाहिर निकालेर यहाँ बस्ती बसाउन मञ्जुश्री डाँडालाई काटेका थिए । उनले सुदर्शन चक्रले चोभारको डाँडालाई काटी पानी बाहिर पठाउँदा दहमा बसेका नागसमेत बगेर जाने र यसबाट काठमाडौँमा ठुलो सङ्कट आउन सक्ने ठाने । त्यसो हुँदा भीमसेनले एउटा पोखरी बनाई नाग बस्ने ठाउँ बनाएको किंवदन्ती छ ।

समुद्री सतहदेखि एक हजार ३५० मिटरको उचाइमा रहेको यो ताल पाँचदेखि १० मिटरसम्म गहिरो छ । टौदहमा आठ वटा कुना छन् र कुनै पनि कुनाबाट सबै कुना देख्न सकिँदैन । यसको आकार काठमाडौँ उपत्यकासँग मिल्छ । यहाँको ढुङ्गा, माटो वा कुनै पनि वस्तु आफ्नो घरमा लगेमा हानि नोक्सानी हुने र सर्पले दुःख दिने विश्वास रहेको छ । टौदह पानी चराका लागि पनि चर्चित छ । यहाँ जाडोको समयमा आगन्तुक चरा आउने र फुल पार्ने गर्छन् । यहाँको वातावरण स्वच्छ र सुन्दर हुनुका साथै प्रदूषणबाट मुक्त छ । यहाँ दैनिक रूपमा सयौँ नेपाली पर्यटक पुग्ने गरेका छन् । 

चोभार र मञ्जुश्री पार्क टौदह जाने बाटोमा पर्छ । यसै ठाउँमा मञ्जुश्रीले डाँडालाई काटेर गल्छी बनाएका थिए । काठमाडौँमा रहेको विशाल तालको पानीलाई बगाएपछि नै मानिसको बसोबास भएको किंवदन्ती पाइन्छ । मञ्जुश्रीको सम्मानमा चोभारको डाँडामा मञ्जुश्री पार्कको निर्माण गरिएको छ । मञ्जुश्रीको ३३ फिट अग्लो मूर्ति पनि स्थापना गरिएको छ । पार्कमुनि रहेको गल्छीबाट बागमती नदीले उपत्यका छोड्दै गरेको पनि देख्न सकिन्छ । बागमतीको किनारमा जलविनायक मन्दिरमा भगवान् गणेशको दर्शन गर्ने अवसर पाइन्छ । यहाँबाट काठमाडौँ र ललितपुरको धेरै भागलाई देख्न सकिन्छ । पार्क भएका कारण यो ठाउँ रमणीय हुनुका साथै सफा र सुन्दर पनि छ । 

दुवै ठाउँको शैक्षिक भ्रमणबाट हामीले यी ठाउँको ऐतिहासिक र धार्मिक महत्व बुझ्ने मौका पायौँ । दुवै ठाउँलाई अझै व्यवस्थित बनाउनुपर्ने देखिएको छ । जथाभाबी फोहोर फाल्ने अवस्थालाई रोक्नुपर्ने देखिन्छ । सुन्दर बनाउनका लागि स्थानीयले अझै मेहनत गर्नुपर्ने देखिन्छ । साथै यी ठाउँका बारेमा जानकारी दिनका लागि नेपालीका साथै अङ्ग्रेजी भाषामा लेखिएका बोर्ड राख्न सकेमा पर्यटकलाई सहज हुने देखिन्छ । 

   मुना