• २० चैत २०८१, बुधबार

झुगोलामा निर्माणाधीन पुलको काम ३० प्रतिशत सम्पन्न

blog

तीन वर्षमा ३० प्रतिशत मात्र काम भएको बाजुरा र मुगुकोबिचमा पर्ने कर्णाली नदीको झोगुलामा निर्माणाधीन पुल । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की 

बाजुरा, चैत १९ गते । बाजुराको हिमाली र मुगुको खत्याड गाउँपालिका बिचमा पर्ने कर्णाली नदीको झुगोलामा निर्माणाधीन पुलको ३० प्रतिशत मात्र काम भएको छ ।

आर्थिक वर्ष २०७८-०७९ सालको मङ्सिरमा पुलको काम सुरु भएपनि २०८१-०८२ को चैतसम्म यो पुलको तीन वर्षमा जम्मा ३० प्रतिशत मात्र काम भएको छ । सो पुल निर्माणका लागि कुशेश्वर कन्ट्रक्सन प्रालिले २०८१ साल मङ्सिरमा काम सम्पन्न गर्ने गरी २०७९ साल मङसिरमा सम्झौता गरेको थियो ।

सम्झौता भए अनुसार सो कम्पनीले त्यस ठाउँमा एक सय पाँच मिटर लम्बाई पक्की पुल निर्माण गर्नुपर्ने हो । त्यसका लागि सो कम्पनीले १४ करोड ४९ लाख रुपियाँमा सम्झौता गरेको पूर्वाधार विकास कार्यालय मुगुले जनाएको छ । 

बाजुरा र मुगुलाई जोड्ने गरी भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय कर्णाली प्रदेश सरकारले रकम विनियोजन गरेको थियो । यो पुल निर्माण भएपछि यहाँको बाजुरादेखि मुगु रारा हुँदै कर्णाली प्रदेशका सबै जिल्ला जोडिने भएका छन्। यो योजना प्रदेश सरकारबाट आएकोले यसको काम कहिले सुरु भएको हो । 

कहिलेसम्म सम्पन्न गर्नुपर्ने हो त्यो सबै कुरा पूर्वाधार विकास कार्यालयलाई मुगुलाई नै थाहा हुने खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर मल्लले बताउनुभयो ।

झुगलामा पक्की पुल निर्माण भएसँगै सुदरपश्चिमका नौ वटै जिल्लाका स्थानीयलाई बाजुरा देखि रारा जान निकै सहज हुने हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले यहाँ बेलीव्रीज छ । त्यसैबाट बाजुरा देखि मुगुसम्म स्थानीय आउजाउ गर्ने गरेका छन् ।”

पक्की पुल निर्माण भएपछि यहाँका स्थानीय व्यापारी तथा बाहिरबाट आउने पर्यटकलाई समेत निकै सहज हुने हिमाली गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो । अहिले यो ठाउँमा बेलिब्रिज पुल निर्माण भएको छ । यसैबाट बाजुरादेखि मुगुमा सवारी समाधन सुचारु हुँदै आएका छन् । पक्की पुल निर्माण भएपछि बाजुरा देखि मुगु रारा जान निकै सजह हुने स्थानीय बताउँछन् ।

२०७८ सालमा सम्झौता भएपनि सरकारले डिजाईन स्टिमेट निर्माण गर्दा निकै ढिलाई गरेपछि पुल निर्माणको काममा ढिलाई भएको कुशेश्वर कन्ट्रक्सन प्रालि काठमाडौंका ठेकेदार जयराज घलले बताउनुभयो । उहाँले भन्नुभयो, “अरु भन्दा कर्णाली नदिमा पुल निर्माण गर्न निकै गाह्रो छ । यहाँ असारदेखि भदौसम्म पानीको निकै बहाव बढ्छ । पुस बल्ल त्यो पानीको बहाव घट्छ । अर्को यहाँ काम गर्दा केही समान बिग्रीयो भने पनि त्यो समान सपारेर यहाँसम्म पुगाउँन तीन चार महिना लाग्छ । अहिले एक वर्षको म्याद पुन थपिदिएको छ ।" आगामी २०८२ सालको चैतभित्र पुल निर्माणको काम सम्पन्न गर्ने गरी यती बेला काम तीब्र रुपमा भइरहेको ठेकेदार घलेले बताउनुभयो ।

ठेकेदार कम्पनीले सम्झौता गरे अनुसारको काम सम्पन्न नगरेकोले अहिले फेरि म्याद थपेको छ । अहिले एक पील्लरको काम सकेर अर्को बिचको पील्लरको काम सुरु भएको पुर्वाधार विकास कार्यालय मुगुका कार्यालय प्रमुख कृष्ण चापागार्ईंले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पुलको निर्माणको डिजाइन गर्दा नै धेरै समय लाग्यो । एक वर्ष त्यसरी नै गयो । एक वर्षपछि बल्ल डिजाइन पुरा भयो । ठेकेदार कम्पनीले त्यसपछि मात्र पुलको काम पनि सुरु गर्‍याे । अहिले फेरि म्याद थपिदिएको छ ।" त्यो म्याद अनुसारमा नै काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले काम गरिहरको प्रमुख चापागाईले बताउनुभयो।