• २० चैत २०८१, बुधबार

नेपालगन्जका परिकार

blog

नेपालको पुरानोमध्येको सहर हो नेपालगन्ज । यसलाई नयाँ मुलुक पनि भनिन्छ । भारतमा शासन गरेका अङ्ग्रेजबाट भूमि फिर्ता पाएको हुनाले नेपालगन्जलाई नयाँ मुलुक भनिएको हो । यो सहर अहिले लुम्बिनी प्रदेशको बाँके जिल्लामा छ । नेपालगन्ज परिकारका कारण पनि प्रसिद्ध छ । 

राबडी

राबडी दुधबाट बनेको विशेष परिकार हो । कुराउनीसँग मिल्दोजुल्दो यो परिकार चिनी हालिएको वा नहालिएको दुवै किसिमको पाइन्छ । नेपालगन्जको त्रिभुवन चोकका मिठाई पसलबाट सुरु भएको राबडीको व्यापार अहिले नेपालगन्जका प्रायः सबै मिठाई पसलमा पाइन्छ । काठमाडौँ वा पोखराबाट यहाँ आएकाहरूले फर्किने बेला राबडी लिएर जाने गरेका पनि छन् । लामो समयसम्म राख्दा अमिलो हुने हुँदा हवाईजहाजबाट फर्किंदा मात्र लिएर जान सम्भव हुन्छ । नेपालगन्ज पुग्दा त्रिभुवन चोकको राबडी चाख्न नभुल्नु होला । राबडी पाइने पसलमा दही पनि चाख्नु होला । यहाँको दही पनि विशेष स्वादको हुन्छ ।


चाट र पानीपुरी

चाटका लागि पनि नेपालगन्ज प्रख्यात छ । नेपालगन्जका अधिकांश चोक र गल्लीमा ठेला तथा पसलमा चाटको व्यापार देख्न पाइन्छ । चाट खानेमा धेरै जसो महिला हुन्छन् । यहाँको चर्चित भनेको टिकिया चाट हो । उमालेको आलुबाट चाट बनाइन्छ । त्यसमा अदुवा, खुर्सानी, जिरा पाउडर, चाट मसाला पाउडर, अमिलो आदि हालिन्छ । ठुला तावामा चेप्टो पारिएका आलुलाई पकाएर चाट तयार गरिन्छ । चाट अमिलो वा गुलियो दुवै खाले पाइन्छ । चाट पसलमा पानीपुरीको व्यापार पनि राम्रै हुने गरेको छ । यहाँको पानीपुरीको स्वाद पनि फरक खालको पाइन्छ । स्वादिलो हुने हुँदा बढी जसो महिलाले यो खाने गरेका छन् । पहिले पानीपुरी खाने र त्यसपछि चाट खाने चलन यहाँ छ ।


बिरयानी र सेकुवा

इस्लाम धर्मावलम्बीको मुख्य परिकार बिरयानी हो । यहाँको बिरयानीले प्रसिद्धि कमाएको छ । मसला प्रयोग गर्ने सिप राम्रो भएकाले मुस्लिम समुदायले पकाएको बिरयानी बढी स्वादिलो हुन्छ । नेपालगन्जमा मुबारक बिरयानी निकै चर्चित छ । त्योबाहेक अन्य पसल पनि छन् । चामल र मासुबाट तयार गरिने यो परिकार अचेल शाकाहारी पनि खाने चलन छ । नेपालगन्ज पुगेकाले बिरयानी नखाएर फर्किने कमै हुन्छन् ।


हलुवा पराठा

नेपालगन्जमा खान छुटाउन नहुने परिकार हलुवा पराठा पनि हो । हलुवा पराठा नेपालगन्जलाई चिनाउने परिकार हो । अन्य पसलमा पनि पाइन्छ तर चौलिक्का चोकमा विशेषखाले हलुवा पराठा तयार पार्ने गरिन्छ । नजिकै महेन्द्र बहुमुखी क्याम्पस भएकाले बिहान पढ्न जानेहरू खाजाका रूपमा हलुवा पराठा खाने गर्छन् । बडेमानको पराठा तयार गरी त्यसलाई टुक्रा पारी बिक्री गरिन्छ । यीबाहेक पछिल्लो समयमा मट्का चियाले पनि प्रसिद्धि कमाउन थालेको छ । विभिन्न तरकारीका पकौडा खाने चलन पुरानो हो । जसलाई घमन्जा भनिन्छ । गर्मी अधिक हुने सहर भएकाले यहाँको लस्सी पनि उत्तिकै प्रसिद्ध छ । बिहान चनापुरी खाने चलन निकै पुरानो हो । 

    मुना