• २० चैत २०८१, बुधबार

पशुपति दर्शन अभियानमा बलिउड कलाकार

blog

बलिउड कलाकार प्रवीण डबास र नायिका प्रीति झाङ्गियानी तथा कोषका सदस्य–सचिव डा. मिलनकुमार थापा

काठमाडौँ, चैत १९ गते । पशुपतिनाथ मन्दिरको दर्शन, प्रचार एवं प्रवर्धन र खेलकुदको विकास लागि बलिउड नायिका एवं मोडल प्रीति झाङ्गियानी र कलाकार, मोडल तथा निर्देशक प्रवीण डबास नेपाल आउनुभएको छ । 

धार्मिक पर्यटन प्रवर्धन गरी देशलाई आर्थिक रूपान्तरणको मार्गमा अघि बढाउने उद्देश्यका साथ पशुपति क्षेत्र विकास कोषले भारतका राजनीतिज्ञसँगै बलिउड कलाकारलाई पनि नेपालमा निम्त्याउने गरेको छ । 

वार्षिक ५० लाख धार्मिक पर्यटक भित्र्याउने उद्देश्यका साथ आरम्भ गरिएको ‘पशुपति दर्शन अभियान’ अन्तर्गत समृद्धिको राष्ट्रिय आकाङ्क्षालाई सार्थक बनाउने उद्देश्यले कोषले बलिउड ‘स्टार’ हरूलाई पशुपतिनाथ भ्रमणका लागि आमन्त्रण गरेको हो । 

पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाका अनुसार बलिउड जोडी झाङ्गियानी र डबासले नेपालको धार्मिक पर्यटन प्रवर्धन र खेलकुदको विकासमा सहयोग गर्ने लक्ष्य राख्नुभएको छ । डा. थापाले दुई देशबिच प्राचीनकालदेखिको आर्थिक, सामाजिक एवं सांस्कृतिक सम्बन्धलाई अझै उचाइमा लान र जनस्तरमै पुगेर धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्य अनुरूप उहाँहरूलाई बोलाइएको बताउनुभयो । 

धार्मिक पर्यटन प्रवर्धन 

नायिका झाङ्गियानीले नेपाल र भारतबिच रहिआएको धार्मिक एवं सांस्कृतिक सम्बन्धलाई अझै बलियो बनाउने, पशुपतिनाथ मन्दिर दर्शन गर्न उत्प्रेरित गर्ने र नेपालका पर्यटकीयस्थलको परिचय दिने गरी काम गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “भारतले तीव्र आर्थिक विकास गरिरहँदा नेपालमा पनि समृद्धिको आधार निर्माण होस् भन्ने हाम्रो सदीक्षा हो । नेपाल प्राकृतिक रूपमा असाध्यै सुन्दर देश भएकाले समृद्धिको अनेक सम्भावना छन् । त्यसैले नेपाललाई पनि समुन्नतिको बाटोमा अघि बढाउन प्रेरित गर्ने नै हाम्रो चाहना हो ।” 

निर्देशक डबासले नेपालको विकास र समृद्धिका लागि पशुपतिनाथ मन्दिर दर्शन गर्ने सहज वातावरण तयार गर्न सुझाव दिनुभयो । उहाँले भौतिक संरचना, यातायात, होटल रेस्टुरेन्ट र पर्यटकलाई सहज हुने वातावरण तयार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पशुपतिनाथ मन्दिरसँगै नजिकका जिल्लामा पुगेर घुम्ने चाहना हुन्छ । त्यसका लागि आधारभूत भौतिक संरचना नै चाहिन्छ । ती संरचनालाई अझै राम्रो बनाउनु पर्छ ।”

खेलकुद प्रतियोगिता आयोजना हुने

एसियाली आर्म रेस्लिङ महासङ्घका उपाध्यक्षसमेत रहेकी नायिका झाङ्गियानीले नेपालमा ‘प्रो–पन्जा’ लिग आयोजना गरिने बताउनुभयो । उहाँका अनुसार २०२५ को नोभेम्बरसम्ममा नेपालमा प्रो–पन्जा (पन्जा लडाउने खेल) लिग आयोजना गरिने छ । उहाँले भन्नुभयो, “भारतमा लिग सम्पन्न भइसकेको छ । फुटबल र क्रिकेट जस्तै यो खेलमा नेपाली खेलाडीलाई अघि बढाउनका लागि प्रतिस्पर्धा आयोजना गर्ने तयारीमा हामी छौँ ।”

कोषका सदस्य–सचिव डा. थापाले पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भारतका दर्शनार्थीलाई नेपालबारे सकारात्मक खबर लाने वातावरण तयार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अतिथि देवोः भवः भने झैँ नेपाल आउने दर्शनार्थीले मौखिक प्रचार गर्ने र आर्थिक विकासमा सहयोग पुग्ने विश्वासका साथ राजनीतिज्ञ, कलाकार, उद्यमीसहित विभिन्न क्षेत्रका अगुवालाई आमन्त्रण गरिएको हो ।”

यसअघि माघ ३० गते भारतको गोवाका स्वास्थ्य तथा सहरी विकासमन्त्री विश्वजित प्रतापसिंह राणेले पशुपतिनाथ मन्दिरमा ३५ किलोग्राम श्रीखण्ड चन्दन प्रदान गर्दै पाँच वर्षका लागि पशुपतिनाथ मन्दिरमा चन्दन प्रदान गर्ने घोषणा गर्नुभयो । मुम्बईमा माघ १ देखि ११ गतेसम्म सञ्चालित दस महाविद्या विष्णु सहश्रकोटी हवनमा धार्मिक अभियन्ता महामण्डलेश्वर गुरुबाबा कालीदास स्वामी कृष्णानन्द परमहंसले भारतका केन्द्रीय बन्दरगाह, परिवहन र जलमार्गमन्त्री सर्बानन्द सोनोवाललाई पशुपतिनाथ मन्दिर दर्शनका लागि आमन्त्रण गर्नुभयो । मन्त्री सोनोवालले चाँडै पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने बताउनुभयो । नेपाल नागरिक समाज भारतका अध्यक्ष एवं धार्मिक अभियन्ता अशोक सिंह नेपालीले आर्थिक समुन्नतिका लागि नेपाल र भारतबिच धार्मिक पर्यटनका नवीनतम् सहकार्य थालनी गर्नुपर्ने बताउनुभयो ।