• २ चैत २०८२, सोमबार

सीताराम मन्दिरमा बर्सेनी राष्ट्रकल्याण महायज्ञ

blog

रेसुङ्गाको काखमा रहेको सीताराम मन्दिर । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), चैत २ गते ।
प्रसिद्ध धार्मिक स्थल रेसुङ्गाको काखमा निर्माण गरिएको सीताराम मन्दिरमा आगामी चैत १३ देखि १९ गतेसम्म ‘राम कथा, शिव पुराण पुराण पारायण, हनुमान चालिसा हवनात्मक अनुष्ठान तथा राष्ट्रकल्याण महायज्ञ’ हुने भएको छ ।

यो मन्दिरमा वर्षेनी राम कथा तथा राष्ट्रकल्याण महायज्ञ हुँदै आएको छ । यो वर्ष पनि राम नवमीको दिनदेखि महायज्ञ आयोजना गरिएको छ । सात दिनसम्म प्रमुख कथा बाचिकाको रुपमा सुधा अच्युत प्रिया रहनुहुनेछ । रेसुङ्गा र गुल्मीदरवारका भक्तजन, स्थानीय आमा समूह, क्लव तथा संघसंस्थाको व्यापक उपस्थितीमा शोभाकलशसहित महायज्ञ सञ्चालनको योजना रहेको छ ।

प्रत्येकदिन सन्तमहात्माहरु मार्फत रामकथा, राम आरती, हनुमान चालिसा हवनात्मक अनुष्ठान, भजन तथा विभिन्न झाँकीहरु प्रस्तुत हुने सीताराम मन्दिरका परिकल्पनाकार सुब्बा बस्नेतले जानकारी दिनुभयो । बस्नेतले व्यक्तिगत रुपमा एक करोड बढि खर्च गरेर सीताराम मन्दिर निर्माण गर्नुभएको छ । अहिले करिव १२ सय जना भक्तजन बस्न मिल्ने यशशाला निर्माणको काम भइरहेको छ । मन्दिर, सडक स्तरोन्तीसहित यज्ञशाला निर्माणका काम बस्नेत आफैँले व्यक्तिगत रुपमा गर्दै आउनुभएको छ ।

जिल्लाको गुल्मीदरबार गाउँपालिका–३ का सुब्बा बस्नेतले मन्दिर निर्माणपछि प्रत्येक बर्ष महायज्ञ गर्दै निःशुल्क बृहत शिविर, विपन्नहरुको चौरासी, व्रतबन्ध, विवाह, रुद्रीलगायतका कर्महरु पनि निःशुल्क गराउनुहुन्छ । रेसुङ्गा नगरपालिका–१३ को राम्चे डाँडामा बस्नेतले निर्माण गरेको सीताराम मन्दिर धार्मिक पर्यटनका दृष्टिकोणले पनि गन्तव्य बनिरहेको छ । स्थानीयका अनुसार त्रेतायुगमा रेसुङ्गामा भगवान श्रीराम जाने बेलाका पाइला छोडेका थिए । पछि सडक निर्माणको क्रममा पाइलाहरु फुटालिएपछि आफुले सोहि ठाउँमा एक करोड खर्च गरेर मन्दिर निर्माण गरेको मन्दिर निर्माता बस्नेतले बताउनुभयो ।

स्थानीयले ती पाइलाहरु रहने बेलासम्म एकदशीका दिन पुजा गर्ने गर्थे । बस्नेत आफै पनि इन्जिनीयर हो । आफैले डिजाइन गरेर मन्दिर बनाउनु भएको छ । भुवानेडाँडालाई पर्यटकीय क्षेत्र भएकाले वनभोज स्थलका रुपमा अगाडी बढाइएको थियो । अहिले बस्नेतले आर्कषक मन्दिर बनाएपछि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको लाग्न थालेको मन्दिर व्यावस्थापन समितिका अध्यक्ष सुमन कार्कीले बताउनुभयो ।

‘‘रेसुङ्गा आफैँमा सुन्दर र आर्कषक छ । त्यसैमा सीताराम मन्दिर सुनमा सुगन्ध बनिरहेको छ,’’ कार्कीले भन्नुभयो, ‘‘मुख्य सडक संरचना अझै राम्रो बनाउन सके उल्लेख्य धर्माबलम्बी आउँछन् ।’’ मन्दिर निर्माण भएपछि वर्षेनी हुने महायज्ञले स्थानीयमा धार्मिक तथा अद्यात्मिक उर्जा प्रदान गरेको छ । दैनिक महायज्ञसहित मन्दिरको दर्शन गर्न आउनेहरुको घुइँचो लाग्ने गरेको छ । महायज्ञमा मात्रै नभएर अरु बेला पनि दैनिक मन्दिरमा आउनेहरुको सङ्ख्या बढ्दै गएको स्थानीय रविन केसीले बताउनुभयो ।