ज्ञानु पंगेनी
मध्यविन्दु, चैत २ गते । नवलपुरको देवचुली नगरपालिका–१०, मिलन टोलका महिलाहरूले हातैले कातेको पूजा–बत्ति उत्पादन गरेर स्वदेश तथा विदेशसम्म निर्यात गर्दै आएका छन्। महिलाहरूको सामूहिक प्रयासले उत्पादन हुने बत्तिलाई अहिले राम्रो बजार मिलेको छ।
यहाँका नौ जना महिलाले मिलेर कपास र धागोबाट परम्परागत तरिकाले बत्ति काटेर बिक्री वितरण गर्दै आएका छन्। महिलाहरूले गठन गरेको लक्षबत्ति आजआर्जन समूह दर्ता गरी विगत पाँच वर्षदेखि बत्ति उत्पादन र बिक्री गर्दै आएको समूहकी अध्यक्ष राधादेवी न्यौपानेले जानकारी दिनुभयो।
उहाँका अनुसार घरायसी काम सकेर बाँकी रहेको फुर्सदको समय सदुपयोग गर्दै महिलाहरू आयआर्जनमा जुटेका छन्। “समूहमा मिलेर काम गर्दा काम सहज हुन्छ, समय व्यवस्थापन मिल्छ र आम्दानी पनि हुन्छ,” अध्यक्ष न्यौपानेले भन्नुभयो। समय मिल्दा सदस्यहरू एकै ठाउँमा बसेर बत्ति काट्छन् भने समय नमिल्दा आ–आफ्नै घरमा बत्ति काट्ने व्यवस्था गरिएको छ।
समूहकी पूर्व अध्यक्ष सीतादेवी पौडेलका अनुसार विशेषगरी पूजाआजा, व्रतबन्ध, विवाह तथा पितृकार्यका लागि लाख बत्तिको माग बढी रहने गरेको छ। शहर बजारमा व्यस्त व्यक्तिहरूले पनि बत्ति माग गर्ने गरेका छन्।
परम्परागत धार्मिक मान्यताअनुसार महिनावारी, जुठो–सुत्केरा, सोमबार तथा औँसीका दिन बत्ति काटिँदैन। “शुद्ध र चोखोनिष्ठ भएर मात्रै बत्ति कात्ने परम्परा भएकाले देश–विदेशबाट बत्तिको माग हुने गरेको छ,” पौडेलले बताउनुभयो।
समूहले हालसम्म अस्ट्रेलिया, अमेरिका, क्यानडा, पोर्चुगल र लण्डनलगायत देशमा बत्ति पठाइसकेको छ। नेपालभित्र पनि काठमाडौँ, नारायणगढ, गुल्मी, कालिकोट, बुटवल, पोखरा लगायतका स्थानमा बिक्री भइरहेको छ।
उपभोक्ताको माग अनुसार बत्तिको मूल्य फरक–फरक हुने गरेको छ। तीन सरादेखि २१ सरासम्मका बत्ति तयार हुने र त्यसअनुसार मूल्य निर्धारण हुने समूहकी सदस्य सीता घिमिरेले बताउनुभयो।
एक दिनमा करिब २ हजारदेखि ५ हजारसम्म बत्ति काट्ने गरेको समूहकी सदस्य माया बरालले बताउनुभयो। घरायसी काम सकेर फुर्सदको समयमा बत्ति काटेर व्यक्तिगत खर्च जुटाउने गरेको बताउनुभयो।
समूहले आम्दानीलाई सहकारीमा बचत गर्ने व्यवस्था गरेको छ। बचत भएको रकम आवश्यक पर्दा सदस्यलाई सहुलियत ब्याजदरमा ऋण दिने तथा बाहिरी व्यक्तिलाई केही बढी ब्याजदरमा ऋण प्रवाह गरी थप आम्दानी गर्ने गरिएको समूहकी सदस्य पवित्रा रेग्मीले जानकारी दिनुभयो।
बत्तिको माग बढेसँगै वार्षिक रूपमा राम्रो आम्दानी हुन थालेको छ। गत वर्ष मात्रै प्रतिव्यक्ति करिब एक लाख रुपियाँ बराबरको रकम समूहले बाँडफाँट गरेको समूहकी अर्की सदस्य गीता बरालले बताउनुभयो।