• २ चैत २०८२, सोमबार

‘प्रत्येक तीन महिनामा रिपोर्ट कार्ड प्रस्तुत गर्छु’

blog

परासी समाचारदाता

परासी, चैत २ गते । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका नेता नरेन्द्रकुमार गुप्ताले सुशासन र विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पहिलो पटक संसदीय यात्रामा प्रवेश गर्दै गुप्ताले मतदाताले गरेको विश्वासलाई कामबाट प्रमाणित गर्ने बताउनुभयो । २०३१ असोज १८ गते रामग्राम नगरपालिका–२ मा जन्मिएका गुप्ताले व्यवसाय तथा सामाजिक सेवामा सक्रिय रहँदै स्थानीय तहदेखि नै नेतृत्वको अनुभव बटुल्नुभएको छ । उहाँ नेपालमा सङ्घीय संरचना लागु भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा रामग्राम नगरपालिकाको संस्थापक नगरप्रमुख बन्नुभएको थियो । नगरप्रमुखको कार्यकालमा पूर्वाधार विकास, व्यवस्थापन र जनसरोकारका विषयमा देखाएको सक्रियताले उहाँलाई स्थानीयस्तरमा लोकप्रिय बनाएको छ ।

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका गुप्ता भारी मतान्तरले विजयी हुँदै सङ्घीय संसद्मा प्रवेश गर्नुभएको हो । उहाँले भन्नुभयो, “यो मेरो व्यक्तिगत जित होइन, परिवर्तन चाहने सम्पूर्णको जित हो । परम्परागत राजनीतिबाट निराश नागरिकले रास्वपाको नीति र मेरो सामाजिक पृष्ठभूमिमा विश्वास गरेर मलाई जिम्मेवारी दिएका हुन् ।”

स्नातक तहसम्म अध्ययन गरेका गुप्ता सफल व्यवसायीका रूपमा समेत चिनिनुहुन्छ । उहाँका अनुसार आफ्नो क्षेत्रको आवश्यकता र सम्भावनालाई नजिकबाट बुझेर नै विकासका प्राथमिकता तय गरिएको छ । 

गुप्ताले कृषि, शिक्षा र स्वास्थ्यलाई आफूले मुख्य प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो क्षेत्र कृषिप्रधान भएकाले किसानले समयमै मल, बिउ र सिँचाइको सुविधा पाउनु अत्यन्त आवश्यक छ । किसानको उत्पादन बढाउन र कृषि क्षेत्रलाई व्यवस्थित बनाउन पहल गर्ने छु ।”

त्यसै गरी युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने योजना पनि उहाँको प्राथमिकतामा छ । उहाँले भन्नुभयो, “युवालाई विदेश जान बाध्य हुने अवस्था अन्त्य गर्न स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनु जरुरी छ ।” पर्यटन विकासलाई पनि उहाँले क्षेत्रीय समृद्धिको महत्वपूर्ण आधारका रूपमा लिनुभएको छ । विशेष गरी ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रामग्राम स्तूपको संरक्षण र प्रवर्धन गरी पर्यटकीय सम्भावना विस्तार गर्ने उहाँको योजना छ । उहाँले भन्नुभयो, “रामग्राम स्तूपको व्यवस्थित विकास गर्न सके स्थानीय अर्थतन्त्र चलायमान बनाउन ठुलो सहयोग पुग्छ ।”

सांसद गुप्ताले संसद्मा आफ्नो मुख्य भूमिका नीति निर्माणमा केन्द्रित हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मेरो लक्ष्य नीति निर्माणको केन्द्रमा रहेर जनताको जीवनस्तर सुधार्ने कानुन बनाउन सहयोग गर्नु हो । स्थानीयस्तरका विकासमा देखिएका अवरोध हटाउन प्रदेश र स्थानीय तहसँग समन्वय गरेर काम गर्ने छु ।”

गुप्ताले पारदर्शिता र जवाफदेहितालाई आफ्नो कार्यशैलीको आधार बनाउने बताउनुभयो । जनतासँग निरन्तर सम्पर्कमा रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले प्रत्येक तीन महिनामा जनतामाझ पुगेर आफ्नो कामको ‘रिपोर्ट कार्ड’ प्रस्तुत गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी केवल आश्वासन दिने होइन, कार्ययोजनासहित अघि बढेका छौँ । जनताले दिएको विश्वासलाई निराश हुन दिने छैन ।”

भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने अठोट व्यक्त गर्दै गुप्ताले राजनीतिक इच्छाशक्ति भए विकास सम्भव हुने बताउनुभयो । उहाँले भन्नुभयो, “स्रोतको सही परिचालन र इमानदार प्रयासले विकासको गति तीव्र बनाउन सकिन्छ ।” 

उहाँका अनुसार सङ्घीय सांसदको भूमिका नीति निर्माणमा केन्द्रित भए पनि जनताको अपेक्षा भने विकासनिर्माणसँग जोडिएको हुन्छ । उहाँले भन्नुभयो, “यसबिचको खाडललाई समन्वयकारी भूमिकाबाट पूरा गर्न म प्रयासरत रहने छु ।”