गुलरिया समाचारदाता
गुलरिया (बर्दिया), चैत २ गते । बर्दियामा पछिल्लो समयमा अधिकांश किशोरीमा रक्तअल्पता देखिएको छ । किशोरीमा गरिएको रक्तपरीक्षणमा ८१.९ प्रतिशतमा रक्तअल्पता फेला परेको हो । स्वास्थ्य कार्यालय बर्दियाले आठ वटा नगरपालिकाका आठ वटा विद्यालयका दुई हजार ६७२ किशोरीमा गरेको रक्त परीक्षणमा रक्तअल्पता फेला परेको हो ।
रक्तअल्पता परीक्षण गरिएका किशोरीमध्ये ४८३ जनाको मात्र सामान्य हेमोग्लोबिन रहेको र दुई हजार १८९ जनामा रक्तअल्पता फेला परेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । रक्तअल्पता फेला पर्नेमा सामान्य रक्तअल्पता ५७५ जना, मध्यम रक्तअल्पता एक हजार ४१३ जनामा देखिएको छ भने कडा खालको रक्तअल्पता ७२ जनामा देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख नारायणप्रसाद चौधरीले किशोरीमा बढी रक्तअल्पता देखिएको पुष्टि गर्नुभयो । उहाँले रक्तअल्पताको रोकथामका लागि साप्ताहिक रूपमा आइरन चक्की खुवाउने कार्यक्रम रहेको बताउँदै रक्तअल्पता देखिएका किशोरीलाई छ महिनापछि पुनः परीक्षण गरिने बताउनुभयो । गत वर्ष जिल्लाभरिका १६ वटा विद्यालयका तीन हजार ३३७ किशोरीमा रक्तपरीक्षण गरिएको थियो । जसमध्ये दुई हजार ६९३ जनामा रक्तअल्पता देखिएको थियो भने ६४४ जनामा रक्तअल्पता देखिएको थिएन ।
कडा रक्तअल्पता देखिएका किशोरीलाई औषधी दिई थप जाँच र उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको थियो । स्वास्थ्य कार्यालय बर्दियाका कुपोषण स्रोतव्यक्ति मानबहादुर नेपालीले सामान्य र मध्यम खालको रक्तअल्पता देखिएकालाई आइरन चक्की दिई पोसिलो खानेकुरा खानका लागि सुझाव दिइएको बताउनुभयो । उहाँले गत वर्षको तुलनामा यस वर्ष रक्तअल्पता बढी देखिएको बताउनुभयो । उहाँले यस वर्ष रक्तअल्पता परीक्षण गरेका विद्यार्थीलाई छ महिनापछि पुनः परीक्षण गरी भएको सुधारको अवस्था हेरिने बताउनुभयो । कडा खालको रक्तअल्पता देखिएका ७२ जनामध्ये ९० प्रतिशत थारू समुदायका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरूलाई थप जाँचका लागि अस्पताल पठाइएको छ ।
सरकारले किशोरीमा रक्तअल्पता नहोस् भनेर हरेक साता आइरन चक्की खुवाउने कार्यक्रम ल्याएको छ । आइरन चक्की खुवाउँदासमेत किशोरीमा रक्तअल्पता देखिएको छ । कतिपय किशोरीमा रक्तअल्पता भएकै कारण विद्यालयमा चक्कर आउने, आलस्य हुने र बिरामी जस्ता देखिने गरेका छन् । शिक्षिका शारदा ज्ञवालीले सरकारले खुवाउने आइरन चक्कीको मात्रा कम भएको बताउनुभयो ।
खानपानमा कमी देखिएको कारणले किशोरीमा रक्तअल्पता देखिने गरेको छ । बर्दिया अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. कृष्ण खनालले घरमा बनाएका र प्राकृतिक खानामा भन्दा किशोरकिशोरीमा बजारिया तथा जङ्क फुडप्रति बढी आकर्षण भएकाले उनीहरूमा पोषणको कमी हुने र रक्तअल्पताको समस्या देखिने गरेको बताउनुभयो । उहाँले खानपानको तरिका नमिल्दा, रगत बढ्ने खानेकुरा नखाँदा, जङ्क फुड र क्याफिनयुक्त खानेकुरा बढी खाँदा किशोरीमा रक्तअल्पता हुने गरेको बताउनुभयो ।