• १९ चैत २०८१, मङ्गलबार

सञ्चारकर्मी सुरेश रजकलाई सहिद घोषणा गर्न माग

blog

धर्ना कार्यक्रममा सहभागीहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, चैत १७ गते । नेवाः पत्रकार राष्ट्रिय दबूले राजावादीको प्रदर्शनमा मारिएका सञ्चारकर्मी सुरेश रजकलाई सहिद घोषणा र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ।

सञ्चारगृहमाथि भएको आक्रमण र सञ्चारकर्मी मारिएको विरोधमा पत्रकार राष्ट्रिय दबूले आईतबार वसन्तपुरस्थित महादेव पार्वती डबलीमा धर्ना दिई सो माग गरेको हो ।

धर्नामा विभिन्न वक्ताहरुले राजावादीको कथित आन्दोलनको नाउँमा तीनकुनेमा भएको अराजक तथा हिंसात्मक गतिविधिमा सञ्चारकर्मी मर्ने र सञ्चारगृहमाथि भएको आक्रमण हुँदा पनि गृह प्रशासन जिम्मेवार तवरले पेश नभएकोमा आलोचना समेत गरेका थिए। घटनाको उचित छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने उनीहरुको माग रहेको छ।

सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले प्रदर्शनमा भएको अराजक गतिविधिको निन्दा गर्दै सञ्चार गृह र सञ्चारकर्मी मारिएकोमा दुःख व्यक्त गर्नुभयो। सञ्चारकर्मी रजक समाचार संकलनको क्रममा मारिएकोमा उहाँलाई सहिद घोषणा गर्न माग गर्दै अध्यक्ष श्रेष्ठले माग पूरा नभएसम्म चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव समिर बलामीले जुनसुकै आन्दोलनको निशाना आदिवासी जनजाति भएको उल्लेख गर्दै चैत १५ गते भएको प्रदर्शनमा मृतक हुनेलाई सहिद घोषणा र परिवारप्रति संवेदनशील भई परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्नुभयो। उहाँले पत्रकार मारिएको विषयमा गृह मन्त्रालयलाई जवाफदेही बन्न आग्रह गर्नुभयो।

धर्नामा मिडिया एलाईन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले सञ्चारकर्मी सुरेश रजक मारिएकोमा दुःख व्यक्त गर्दै यस विषयमा सरकारले सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिन आयोग गठन गर्न माग गर्नुभयो। सरकारले सञ्चारकर्मी रजकलाई सहिद घोषणा गर्न माग गर्नुभयो । 

मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले शुक्रबारको तीनकुनेमा भएको घटना लुकाउन नहुने बरु न्यायिक छानबिन समिति गठन गर्न सुझाव दिनुभयो । 

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले निरंकुश सत्ताको निशाना सञ्चारगृह र सञ्चारकर्मी हुने तथ्य कुनै नौलो नभएको सन्दर्भ जोड्दै घटनामा अनेक प्रश्नहरु अनुत्तरित रहेकाले त्यसलाई बाहिर ल्याउन बलियो आयोग गठन गर्न माग गर्नुभयो।

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जन, महासचिव के के मानन्धरले तीनकुनेमा भएका अराजक घटना सुनियोजित रहेको बताउँदै त्यसमा गृह प्रशासन चुकेको आरोप लगाउनुभयो ।