विकास अधिकारी
पश्चिम नवलपरासी, चैत १७ गते । कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीले गरिब विपन्न समुदायलाई बेमौसमे तरकारी खेतीका लागि सिँचाइ उपकरणहरू सहयोग गरेको छ । सरावल गाउँपालिका-६ गडौराका २४ जना सीमान्तकृत वर्गका गरिब विपन्न किसानलाई ५ लाख बराबरको सिँचाइ सामाग्री शतप्रतिशत अनुदानमा उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी उमाशङ्कर पौडेलले जानकारी दिनुभयो ।
किसानहरूलाई पानी तान्ने मोटर, पम्पसेट, डेलिभरी पाइप, स्प्रे ट्याकीं, विषादी र विषादी छर्दा सुरक्षित रहन प्रयोग हुने पिपिई सेट समेत किसानहरूलाई उपलब्ध गराइएको छ ।
चालु आर्थिक वर्षको लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रम अन्तर्गत सरावल र पाल्हीनन्दनमा किसानलाई निःशुल्क सिँचाइ उपकरणहरू उपलब्ध गराइएको हो । कृषि ज्ञान केन्द्रका प्रमुख डाक्टर रविन्द्रनाथ चौबेले अन्य कार्यक्रममा किसानको लागत सहभागिता हुने भए पनि विपन्न वर्गका लागि यो कार्यक्रममा शतप्रतिशत अनुदानको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
सरावल वडा नम्बर ६ का वडाध्यक्ष छोटेलाल गुप्ताले सिँचाइ उपकरणको दुरुपयोग समेत हुने गरेको भन्दै किसानहरूलाई सही सदुपयोग गरेर खेतीपाती गर्न आग्रह गर्नुभयो ।
आर्थिक अभावका कारण सबै सामाग्री खरिद गर्न नसकेका कारण उत्पादनमै असर परिरहेको समयमा ज्ञानकेन्द्र मार्फत निःशुल्क सामग्री पाएपछि उत्साहित भएको स्थानीय कृषक राकेश हरिजनले बताउनुभयो ।