वालिङ समाचारदाता
वालिङ, चैत १७ गते । आफूले उत्पादन गरेको आलु वालिङमा सञ्चालनमा आएको शीतभण्डारमा राख्न पाएकाले वालिङ नगरपालिका–६ का कृषक शोभाकान्त पाण्डे उत्साहित हुनुहुन्छ । उमेरले ७० काटिसक्नुभएका कृषक पाण्डे निरन्तर कृषि कर्ममा हुनुहुन्छ । उत्पादन गरेकोमध्ये दुई हजार किलो आलु बिउका रूपमा प्रयोग गर्न शीतभण्डारमा राखेको उहाँले जानकारी दिनुभयो ।
वालिङको त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारी संस्थाले सञ्चालनमा ल्याएको शीतभण्डारमा ३३० जना कृषकले आलु भण्डारण गरेका छन् ।
वालिङ–५ का कृषक हुमनाथ लामिछानेले तीन हजार पाँच सय किलो आलु भण्डारण गर्नुभएको सहकारीका व्यवस्थापक युवराज रेग्मीले जानकारी दिनुभयो । लामिछाने सबैभन्दा धेरै आलु भण्डारण गर्ने किसान हुनुहुन्छ । एक हप्ताभित्र आलु भण्डारणका लागि ल्याउन सूचना गरिएको पहिलो दिनमा नै क्षमताभन्दा धेरै आलु आएको व्यवस्थापक रेग्मीले बताउनुभयो । उहाँका अनुसार शीतभण्डारमा ४५ टन अर्थात् चार हजार पाँच सय किलो आलु भण्डारण गरिएको छ । शीत भण्डारको क्षमता ५२ टनको भए पनि केही कम आलु राखिएको उहाँले बताउनुभयो । वालिङको शीतभण्डारमा आलु राख्न नपाएका किसानलाई जिल्लाका अन्य शीतभण्डारमा राख्ने व्यवस्था मिलाइएको व्यवस्थापक रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “यसका लागि सहजीकरणको काम भइरहेको छ ।”
सहकारीले आफ्ना सदस्यहरूका लागि एक बोरा अर्थात् ५० किलो आलु भण्डारण गरेबापत चार सय रुपियाँ लिने गरेको छ भने सदस्य नरहेका कृषकहरूका लागि ४४० रुपियाँ निर्धारण गरिएको सहकारी संस्थाका अध्यक्ष अर्जुनप्रकाश अर्यालले बताउनुभयो । किसानले उत्पादन गरेको आलुलाई न्यूनतम शुल्कमा राख्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । यो रकमबाट बिजुली, आलुको बोरा फर्काउनेलगायतका काममा खर्च गरिने उहाँको भनाइ छ ।
प्रतिमहिना बिजुलीको बिल मात्रै ३५ देखि ४० हजारसम्म आउने गरेको अध्यक्ष अर्यालले बताउनुभयो । कृषकलाई सहजता गराउँदा संस्थाको सञ्चालन खर्चसमेत नउठेको उहाँको गुनासो छ । आठ महिना अर्थात् आगामी २०८२ कात्तिकसम्म आलु भण्डारण गर्नुपर्दा खर्च धान्नै समस्या भएको उहाँले बताउनुभयो । किसानको हितमा काम गरिरहेका सहकारीलाई छुट्टै सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । केही समयअगाडिसम्म आलु भण्डारणका लागि भैरहवा जानुपर्ने बाध्यता रहेको भन्दै सहकारीले काम सुरु गरेपछि आफ्नै ठाउँमा आलु भण्डारण गर्ने अवसर किसानले पाएका छन् । सबै सहकारी संस्थालाई एकै रूपमा हेरिँदा किसानको हकहित र उत्पादनको बजारीकरण गर्दै आएका सहकारीलाई समस्या परेको अध्यक्ष अर्यालले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रा जस्ता उत्पादन र बजारीकरणमा काम गर्दै आएका सहकारी समस्यामा परेका छन् ।” देशको आर्थिक विकास र उत्पादन बढाउन यस्ता सहकारीलाई विशेष अनुदान दिनुपर्नेमा उहाँको जोड छ ।
शीतभण्डारमा राखिएको आलुमध्ये अधिकांश बिउ आलु रहेको छ भने केही खानका लागि प्रयोग हुने आलुसमेत रहेको सहकारी संस्थाले जनाएको छ ।