• १९ चैत २०८१, मङ्गलबार

नयाँ वर्षमा फालेलुङ चौँरी महोत्सव

blog

नारायण तुम्बापो

फिदिम, चैत १६ गते । पाँचथरका सरोकारवाला निकायहरू चौँरीको प्राकृतिक तथा सांस्कृतिक महत्त्व संरक्षण गर्दै पर्यटकीय प्रवर्द्धनमा विगतदेखि नै सक्रिय छन् । यही अभियानलाई निरन्तरता दिन, फालेलुङमा आयोजना हुने आठौँ फालेलुङ चौँरी महोत्सव घोषणा गरिएको छ । शुक्रवार फिदिममा पत्रकार सम्मेलनमा गर्दै आगामी चैत ३१ देखि वैशाख २ गतेसम्म महोत्सव सञ्चालन गरिने आयोजकले जनाएका छन् ।  

फालेलुङ क्षेत्र चौँरी पालन र पर्यटनको केन्द्र

भारतसँगको सीमावर्ती क्षेत्र तीन हजार ५०० मिटर उचाइमा रहेको आकर्षक फालेलुङ क्षेत्र चौँरी पालनका लागि प्रसिद्ध हब मानिन्छ । चौँरी पालन व्यवसायलाई प्रवर्द्धन गर्दै पर्यटनसँग जोडेर ग्रामीण अर्थतन्त्र उठाउने उद्देश्यले महोत्सव गरिँदै आएको हो । फालेलुङ गाउँपालिकाको मुख्य आयोजनामा हुने महोत्सवमा फालेलुङ कञ्चनजङ्घा पर्यटकीय संस्था, दीप ज्योति युवा क्लब, कञ्चनजङ्घा चौँरी पालन तथा संरक्षण संस्था आयोजकका रूपमा रहेका छन्। । साथै, पर्यटन, वन तथा वातावरण मन्त्रालय (कोशी प्रदेश), नेपाल पर्यटन बोर्ड, र नेपाल पत्रकार महासङ्घ पाँचथर शाखा प्रवर्द्धकका रूपमा संलग्न छन् । विभिन्न स्थानीय किसान सङ्घ संस्थाहरूले व्यवस्थापनमा सहकार्य गर्ने आयोजक डिल्ली आञ्जुम केरुङले बताउनुभयो । 

महोत्सवका आकर्षणहरू

महोत्सवमा याक नृत्य प्रस्तुत गरिनुका साथै चौँरी पालन पेसाको परिचय पस्किने रैथाने सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिने बताइएको छ । चौँरी, भेडाजन्य दूध, उन, छुर्पी, घिउ जस्ता विभिन्न उत्पादनको दृश्यावलोकन, खरिद विक्री र खाने बस्ने सुविधाका लागि स्टल, गोठस्टेको प्रबन्ध हुने आयोजक भनाइ छ ।  महोत्सवलाई मनोरञ्जनमय बनाउन रैथाने परम्परागत खेलकुद र राष्ट्रिय कलाकार आमन्त्रण गरेर साङ्गीतिक कार्यक्रम पनि गर्ने भनिएको छ । महोत्सव गर्न लागिएको फालेलुङ क्षेत्रमा लोपोन्मुख रेडपाण्डा पाइनु साथै यहाँबाट मज्जाले सूर्योदयको दृश्य अवलाेकन गर्न सकिन्छ ।  कञ्चनजङ्घा, कुम्भकर्ण, मकालु, सगरमाथा लगायतको हिमशृङ्खलासमेत देख्न पाइन्छ ।

विशेष आकर्षण ज्वाइँ याक प्रदर्शन

फालेलुङ चौँरी महोत्सवमा पुगे यस अवसरमा नेपालका साथै भुटानको ज्वाइँ याक पनि देख्ने अवसर पाइन्छ ।  यहाँका किसानले भुटानबाट उन्नत नस्लका याक (भाले चौँरी) बिउका रूपमा ल्याउने गर्दछन् । जसलाई घर ज्वाइँ याकका रूपमा लामो समय पाल्ने परम्पराकै रूपमा रैथाने चलन छ । आउने महोत्सवमा मुख्य प्रदर्शनको रूपमा ज्वाइँ याकलाई प्रस्तुत गरिने जनाइएको छ । यसपालि चौँरीका बथान र मुख्यगरी ज्वाइँ याकसँग सेल्फी, रिल्स, टिकटक खिचेर बनाएर रमाउन चाहनेका लागि व्यवस्थित सुविधा प्रदान गरिने जनाइएको छ । महोत्सवमा भेट हुने ग्वालाका मुखबाट चौँरीसँग जोडिएका विभिन्न रमाइला किस्साहरू समेत सुन्ने सुनाउने प्रबन्ध पनि गरिने बताइएको छ । यस्ता विभिन्न आकर्षणको पक्षसँग जोडिएको चौँरी महोत्सव सफल पार्न आइदिन फालेलुङ गाउँपालिका उपाध्यक्ष महेन्द्र जवेगुले सबैसँग अनुरोध गर्नु भएको छ । उहाँले महोत्सवको माध्यमबाट स्थानीय आयआर्जन प्रवर्द्धन, चौँरी पालन संरक्षण तथा पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।