काठमाडौँ, चैत १४ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको बताउनुभएको छ । बिहीबार काठमाडौँमा जवाफदेहीता निगरानी समिति र द्वन्द्वपीडित सङ्गठनहरूद्वारा बिहीबार आयोजित सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सङ्क्रमणकालीन न्यायका लागि नै सरकारले हालैमात्र सत्य निरुपण तथा मेलमिलाप तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको बताउनुभयो । उहाँले अब छिट्टै नै यि आयोगहरूले पूर्णता पाउने दाबी गर्नुभयो ।
सभापति देउवाले आयोगले शान्ति सम्झौताका मर्मअनुसार सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घनका विषयमा सत्य अनुसन्धान गरेर न्याय दिलाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले वर्तमान सरकार र राजनीतिक दलहरू पीडितलाई न्याय दिलाउने विषयमा स्पष्ट रहेको बताउनुभयो ।
‘‘वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको छ । सङ्क्रमणकालीन न्यायका लागि नै सरकारले भर्खरै सत्य निरुपण तथा मेलमिलाप तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । अब छिट्टै यी आयोगहरूले पूर्णता पाउनेछन् ।,’’ सभापति देउवाले भन्नुभयो, ‘‘आयोगले शान्ति सम्झौताका मर्मअनुसार सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घनका विषयमा सत्य अनुसन्धान गरेर न्याय दिलाउने नै छ । वर्तमान सरकार र राजनीतिक दलहरू पीडितलाई न्याय दिलाउने विषयमा स्पष्ट छौँ ।’’
चाँडै गठन हुन लागेको दुवै आयोगहरू स्वायत्त, विश्वसनीय र सक्षम हुनुपर्ने सन्दर्भमा द्वन्द्वपीडित एवम् मानव अधिकार समुदायको चिन्ता र चासो अवश्य समाधान हुने जिकिर गर्नुभयो । सरकारले गठन गरेको छनोट समितिले पनि पीडितका अधिकारलाई केन्द्रमा राखेर पारदर्शी ढङ्गले सक्षम र योग्य व्यक्ति सिफारिस गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘सरोकारवाला पक्षहरूसँग पनि छलफल गरेर सत्य निरुपण हुने हो । यस विषयमा तपाईंहरू सबैलाई विश्वास दिलाउन चाहन्छु । चाँडै गठन हुन लागेको दुवै आयोगहरू स्वायत्त, विश्वसनीय र सक्षम हुनुपर्ने सन्दर्भमा द्वन्द्वपीडित एवम् मानव अधिकार समुदायको चिन्ता र चासो अवश्य समाधान हुनेछ । सरकारले गठन गरेको छनोट समितिले पनि पीडितका अधिकारलाई केन्द्रमा राखेर पारदर्शी ढङ्गले सक्षम र योग्य व्यक्ति सिफारिस गर्नेछ भन्ने विश्वास छ ।’’
सभापति देउवाले सङ्क्रमणकालीन न्यायको विषय नेपालले आफैँ सुल्झाउन सके विश्वका अरू मुलुकका लागि पनि मानक बन्न सक्ने बताउनुभयो । बृहत् शान्ति सम्झौताअनुसार सङक्रमणकालीन न्याय दिएपछि नेपालले विश्वमाझ दीर्घकालीन शान्तिका मोडेल स्थापित गर्ने बताउनुभयो ।