• १३ चैत २०८१, बुधबार

कूटनीतिज्ञको कथा ‘दी डिप्लोम्याट’

blog

काठमाडौँ, चैत १२ गते । सत्यको बाटो कठिन छ तर कोही यो बाटो अपनाएर हिँड्छ भने त्यो सत्य नै उसको साहस बन्छ । चलचित्र ‘दी डिप्लोम्याट’ सत्यमा लाग्ने साहसीहरूको कथा हो । चलचित्रको कथा दूतावासमा खटिएका कूटनीतिज्ञको जीवन, उनीहरूको पेसामा हुने हस्तक्षेप र उनीहरूको व्यक्तिगत जीवनमा आइपर्ने  समस्यामा आधारित छ । पाकिस्तानका लागि भारतीय दूतावासका उपनियोग प्रमुख जेपी सिंह (जोन अब्राहम) को जीवन उथलपुथलमा फसेको छ । पाकिस्तानको दुर्गम भेगमा बस्ने एक महिला उज्मा अहमद (सादिया खातिब) दूतावासमा आएर आफू भारतीय नागरिक भएको दाबी गर्छिन् । उनी षड्यन्त्रमा फसेर पाकिस्तान आएको र यहाँ जबरजस्ती विवाहमा बाँधिएको बताउँछिन् । ती पुरुषले उनलाई नराम्रो व्यवहार गरेको र उनी आफ्नो देश भारत जान चाहेको पनि उनले भारतीय दूतावासका कर्मचारीलाई बताउँछिन् । जेपी सिंहले सुरुमा यो पाकिस्तानी खुफिया एजेन्सीको कुनै षड्यन्त्र हुनु पर्छ भन्ने अनुमान लगाउँछन् तर पछि जब उनले वास्तविकता थाहा पाउँछन्, उनी ती महिलालाई मद्दत गर्न राजी हुन्छन् । यो सोचे जस्तो सजिलो हुँदैन ? महिलाको वास्तविकता के हो ? जेपीले उनलाई मद्दत गर्दा दुवै देशका राजनीतिक शक्तिहरूले उनको जीवनलाई कसरी असर गर्छ ।   कसरी उनीहरूले समस्याको सामना गर्छन् र  महिलालाई सुरक्षित रूपमा आफ्नो देशमा पुग्न मद्दत गर्छन् भन्ने कुरलाई चलचित्रमा सटिक रूपमा प्रस्तुत गरिएको छ ।  

कूटनीतिज्ञको भूमिकामा जोन अब्राहम उपयुक्त देखिएका छन् । उनको अभिनय उत्कृष्ट छ । नायिका सादिया खातिबको अभिनय बेजोड छ । उनको अभिनयमा खोट लगाउने ठाउँ छैन । रेवती, कुमुद मिश्रा र सारिब हास्मी जस्ता अनुभवी कलाकारको उत्कृष्ट अभिनयले चलचित्रलाई झन् माथि उठाउने काम गरेको छ । 

निर्देशक शिवम नायरले सन् २००६ मा चलचित्र निर्देशनमा हात हाल्नुभएको हो । उहाँले महारथी, भाग जोनी र नाम सबाना जस्ता चर्चित चलचित्र निर्देशन गर्नुभएको छ । निर्देशकको कथा अनुसार पटकथा निकै चुस्त छ, जुन मूल विषयवस्तुबाट कतै विचलित भएको देखिँदैन । कलाकारको छनोट राम्रो  छ र उनीहरूबाट उत्कृष्ट काम लिन निर्देशक नायर सफल भएका छन् ।  । चलचित्र अनावश्यक रूपमा लम्बिएको छैन, सम्पादन सटिक छ । समग्रमा चलचित्रलाई अवश्य दर्शकले रुचाउँछन् ।