• १३ चैत २०८१, बुधबार

चलचित्र छान्न सकस

blog

काठमाडौँ, चैत ११ गते । कुनै बेला खडेरी, कुनै बेला पानीको भेल । यतिबेला यो कथन ठ्याक्कै नेपाली चलचित्र क्षेत्रसँग मेल खान पुगेको छ । कुनै समय हप्तामा एक/दुई वटा मात्र चलचित्र मात्र एकआपसमा भिडेको अवस्थाबाट उठ्दै अहिले नेपाली चलचित्र बजारमा सात वटा चलचित्र प्रदर्शनरत छन् । धेरै चलचित्र एकसाथ प्रदर्शन हुँदा दर्शकलाई पनि चलचित्र छान्न सकस परेको छ भने चलचित्रको व्यापार पनि बाँडिएको छ । जसले गर्दा कतिपय चलचित्रको लगानी उठ्ने अवस्था पनि देखिँदैन । 

यतिबेला नेपाली महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ सहित सात वटा चलचित्र प्रदर्शनरत छन् । चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन भन्नुहुन्छ, “यसरी चलचित्र जुधेको केही होइन । दसैँतिहारतिर हेर्दै जाऊँ योभन्दा बढी हुन्छ । भटाभट चलचित्र सेन्सर गरेर प्रदर्शन गरेपछि हुने यही हो ।” उहाँले भन्नुभयो, “यहाँ निर्मातालाई चलचित्र प्रदर्शन गर्न पाए पुग्छ । चलचित्र चलोस् नचलोस् कसैलाई मतलब छैन । यो पहिलादेखि नै चल्दै आएको चलन हो र चलिरहन्छ ।” उहाँले हलको काम चलचित्र प्रदर्शन गरिदिने मात्र रहेको बताउँदै दर्शक जहाँ बढी हुन्छन् त्यहीँ चलचित्र प्रदर्शन गर्ने बताउनुभयो । 

चलचित्र विकास बोर्ड अन्तर्गत प्रदर्शन अनुगमन सदस्य तथा हालै प्रदर्शनमा आएको चलचित्र द्रौपदीका निर्देशक ऋषिराज आचार्यको भनाइ भने केही भिन्न छ । उहाँका अनुसार चलचित्र जुधेको भन्दा पनि हप्तैपिच्छे प्रदर्शनमा आएका चलचित्र थपिएका हुनाले यस्तो भएको हो । द्रौपदी प्रदर्शन हुँदा चलचित्र ‘११:५५’ प्रदर्शन हुनेवाला थियो तर अघिल्लो हप्तामा लागेका चलचित्रले राम्रो व्यापार गरेको हुनाले पनि चलचित्र धेरै देखिएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “यहाँ एक/दुई वटा चलचित्रले राम्रो व्यापार ग¥यो भने अर्कोले पनि राम्रो गर्छ भन्ने मानसिकता छ । नेपाली चलचित्र बन्नु राम्रो हो र प्रदर्शन पनि हुनु पर्छ । धेरै चलचित्र प्रदर्शन हुँदा दर्शक बाँडिनु स्वाभाविक हो । उनीहरूले आफ्ना रुचिका चलचित्र हेर्छन् । सकेसम्म धेरै चलचित्र प्रदर्शन नभएको राम्रो हो ।” 

उहाँले एकसाथ धेरै चलचित्र प्रदर्शन हुँदा असर पर्ने स्विकार्दै द्रौपदीमा दर्शक ठिकठिकै आएको बताउनुभयो । उहाँले धेरै चलचित्र नभएको भए चलचित्र चलाउन केही सहज हुने बताउनुभयो । मिलन चाम्स निर्देशित अञ्जिला, बिक्की महर्जन निर्देशित आउटल दफा : २१९, शशाङ्क कँडेल निर्देशित होस्टेल–३, कुमार कट्टेल निर्देशित लाज शरणम्, केशव पाण्डे निर्देशित ११:५५ र विकास रौनियारको राजागन्ज अहिले प्रदर्शनरत चलचित्र हुन् । हलमा चलचित्रको बाढी देख्दा अहिले पनि निर्माता, निर्देशकलाई चलचित्र चलाउने तरिका खासै थाहा नभएको जस्तो देखिन्छ । केबल चलचित्र चलाएर मात्र पुग्छ भन्ने मानसिकताबाट हाम्रा चलचित्रकर्मी बाहिर आउनुपर्नेमा चलचित्रकर्मी बताउँछन् ।