गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ११ गते । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक आपूर्तिकर्ताको इजाजतपत्र नै नलिई श्रमिक आपूर्ति गर्ने कम्पनी र प्रतिष्ठानलाई जरिबाना गरेको छ । विभागका अनुसार काठमाडौँको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजले श्रम ऐन २०७४ अनुसार श्रमिक आपूर्तिकर्ताको इजाजतपत्र नै नलिएका फाल्कन सर्भिसिस कम्पनी र कमल पोखरी सपोर्ट सर्भिस कम्पनीबाट श्रमिक आपूर्ति गरेको पाइएपछि ती कम्पनी र मेडिकल कलेजलाई दुई/दुई लाख जरिबाना गरेको हो ।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले काठमाडौँ मेडिकल कलेजको अनुगमन गर्दा इजाजतपत्र नलिएका श्रमिक आपूर्तिकर्ता कम्पनीबाट श्रमिक आपूर्ति गरेको पाइएपछि जरिबाना गरेको जानकारी दिनुभयो । साथै उहाँले इजाजतप्राप्त गरेका श्रमिक आपूर्तिकर्ता कम्पनीबाट मात्रै श्रमिक आपूर्ति गर्न सबै प्रतिष्ठानको ध्यानाकर्षण गराउनुभयो । विभागका भट्टराईले पछिल्लो समयमा इजाजत नलिएका श्रमिक आपूर्ति कम्पनीले गैरकानुनी तरिकाले श्रमिक आपूर्ति गर्ने गरेको पाइएकाले त्यस्ता आपूर्ति कम्पनीबाट सचेत हुन सबै प्रतिष्ठानलाई आग्रह गर्नुभयो ।
विभागका अनुसार चालु आव २०८१/८२ को आठ महिनासम्म ३५ वटा श्रमिक आपूर्तिकर्ता कम्पनीलाई नयाँ इजाजतपत्र प्रदान गरेको छ । यस अवधिमा ३५५ वटा श्रमिक आपूर्तिकर्ता कम्पनीको इजाजतपत्र नवीकरण गरेको छ भने २८३ वटा श्रमिक आपूर्तिकर्ता कम्पनीको निरीक्षण गरेको विभागले जनाएको छ ।