कविराज घिमिरे
हिले, चैत ११ गते । धनकुटाको धनकुटा नगरपालिका–१ स्थित ओक्मालुङमा एक गुफा छ । नजिकै एक सानो छाँगो छ । यी दुवै स्थानलाई प्रवर्धन गर्न भन्दै प्रदेश सरकारमार्फत धनकुटा नगरपालिकाले करिब एक करोड रुपियाँ खर्च गरेर पूर्वाधार निर्माण गर्यो । गुफासम्म पुग्न झोलुङ्गे पुल, सिँढी निर्माण गरिएको छ । गुफाभित्र पनि ठाउँ ठाउँमा सिँढी निर्माण गरी बत्ती जडान गरिएको छ । नजिकै रहेको छाँगोमा पौडी खेल्न पोखरी, चौतारी, शौचालयलगायत संरचना निर्माण गरिएको छ । यो क्षेत्रलाई धनकुटाको एक मुख्य पर्यटकीय गन्तव्य बनाई धेरैभन्दा धरै पर्यटक भित्र्याउन नगरपालिकाले लगानी गरेको थियो तर पालिकाको योजनाविपरीत अहिले यी स्थानमा निकै कम मात्र पर्यटक पुग्ने गरेका छन् ।
स्थानीय विराट राई पूर्वाधार निर्माण गरिए पनि पर्यटक आगमनको अवस्थामा सुधार हुन नसकेको बताउनु हुन्छ । “पहिले पहिले अलि अलि आउँथे, अहिले त त्यो पनि बन्द छ, पर्यटक नै आउँदैनन्,” राई भन्नुहुन्छ । पर्यटकको सहजताका लागि निर्माण गरिएका संरचना पर्यटक नपुग्दै भत्कने अवस्थामा छन् । वडा नम्बर १ कै हिले सिरानमा एउटा दर्शनटुप्पो (भ्यु टावर) पनि निर्माण गरिएको छ । त्यहाँको पनि अवस्था उस्तै छ । हिले पुग्ने पर्यटकसमेत त्यहाँ पुग्ने गरेका छैनन् ।
धनकुटा नगरपालिका–८ मा रहेको सामुदायिक वनमा करिब एक करोड ५० लाख रुपियाँभन्दा बढीको लागतमा विभिन्न संरचना निर्माण गरी चुलीवन पार्क बनाइएको छ । धनकुटा बजारसँगै जोडिएको भए पनि त्यहाँ पनि अशातीत पर्यटक पुग्ने गरेका छैनन् । धनकुटा नगरपालिका–२, मधुगङ्गाधाममा करिब तीन करोड ७० लाख रुपियाँको लागतमा विभिन्न संरचना तथा पूर्वाधार निर्माण गरिएको छ । मङ्सिरे पूर्णिमामा लाग्ने मेलामा बाहेक अरू समय त्यहाँ पनि कमै मात्र धार्मिक पर्यटक पुग्ने गरेका छन् ।
यी त केही उदाहरण मात्रै हुन् । धनकुटा नगरपालिका क्षेत्रमै यीबाहेक पर्यटन प्रवर्धनका लागि करोडौँ रुपियाँ खर्च गरिएको छ तर पर्यटक भित्रिन सकेका छैनन् । पर्यटन पूर्वाधार निर्माण गरिए पनि त्यसपछिका प्रचारप्रसारलगायत कार्य नगरिँदा पर्यटकको नजर पुग्न नसकेको पर्यटन अभियन्ता जीवनकुमार राई बताउनु हुन्छ । पूर्वाधार निर्माणसँगै प्रचारप्रसारलाई पनि जोड दिनुपर्नेमा त्यो हुन नसकेको उहाँको भनाइ छ । “पूर्वाधार त निर्माण भयो तर पूर्वाधारसँगै त्यसको प्रचारप्रसारका लागि गरिनुपर्ने काम हुन सकेनन् । त्यसले पर्यटकीय स्थलमा पर्यटकको नजर नपुगेको हो,” राई भन्नुहुन्छ ।
ती स्थानको प्रचारप्रसार हुन नसकेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ स्विकार्नु हुन्छ । “हामीले पूर्वाधार निर्माण गरेका छौँ, जुन गर्नै पर्दथ्यो, अब प्रचारप्रसारमा जोड दिनु पर्छ । स्थानीयले अपनत्व ग्रहण गर्नु पर्छ, प्रचारप्रसारका लागि सबै लाग्नु पर्छ,” तामाङ भन्नुहुन्छ ।
धनकुटा नगरपालिकाबाहेक अन्य स्थानीय तहमा पनि अवस्था उस्तै छ । धनकुटाको पाख्रिबास नगरपालिका–८ मा तीन करोडभन्दा बढी रकम खर्चिएर जलदेवी सिमसार निर्माण गरिएको छ तर त्यहाँ अहिले न सोचे जति पानी छ न पर्यटक पुग्ने गरेका छन् । काठमाडौँ महानगरपालिकाको सहयोगमा एक करोडभन्दा बढी रकममा पाख्रिबासकै सुन्तलेडाँडामा निर्माण गरिएको पूर्वाधार प्रयोगविहीन छन् । त्यहाँ मन्दिर, सिँढी र यलम्बरको सालिक निर्माण गरिएको छ । यता राम्चेडाँडामा निर्माण गरिएको दर्शनटुप्पोको अवस्था पनि उस्तै छ । ती क्षेत्रका पूर्वाधार प्रयोगमै नआई टुटफुट हुन थालेका छन् ।
अघिल्लो कार्यकालका जनप्रतिनिधिले अपायक स्थानमा पर्यटन पूर्वाधार निर्माण गराएका कारण समस्या आएको पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ बताउनु हुन्छ तर स्थानीय भने अहिलेको सरकारले संरक्षण तथा प्रचारप्रसारमा चासो नदिएको गुनासो गर्छन् । धनकुटाको छथर जोरपाटीमा लाखौँ रुपियाँ खर्चिएर पटेकडाँडासम्म पुग्न निर्माण गरिएको सिँढीको अवस्था पनि उस्तै छ ।