काठमाडौँ, चैत ७ गते । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले शुक्रबार सिङ्गापुरसँग खेल्दैछ ।
दुई साता तयारी गरेर सिङ्गापुर पुगेको नेपाली टोलीले एएफसी एसिएन कप–२०२७ छनोट खेलको तयारीका लागि सिङ्गापुरसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । एएफसी एसिएन कप–२०२७ छनोटअन्तर्गत नेपालले मलेसियासँग मार्च २५ तारिख खेल्नेछ ।
नेपालले सिङ्गापुरसँग ३६ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो । नेपाल र सिङ्गापुरबिचको खेल नेपाली समयअनुसार साँझ ६:१५ बजे हुनेछ । नेपाली टोलीका अष्ट्रेलियन प्रशिक्षक म्याट रोसका लागि पनि यो पहिलो खेल हो । प्रशिक्षक रोसले सिङ्गापुर जानुअघि नेपालले नतिजामा भन्दा आफ्नो प्रदर्शनमा सुधार गर्ने बताउनुभएको छ ।
सिङ्गापुरसँग लामो समयपछि खेल्न लागेको नेपालका लागि शुक्रबारको खेल बास्तविक परिक्षा हुनेछ । यसअघि यी दुई टोलीबिच सन् १९८९ मा फिफा विश्वकप छनोट खेलमा भिडन्त भएको थियो । त्यतिवेला नेपाल दुवै खेलमा पराजित भएको थियो । फिफा वरीयतामा समेत सिङ्गापुर नेपालभन्दा माथि छ ।
सिङ्गापुर एक सय ६०औँ र नेपाल एक सय ७५औँ स्थानमा छ । त्यसैले नेपाल सिङ्गापुरसँग उत्कृष्ट प्रदर्शन गर्दै मलेसियासँगको खेललाई आत्मविश्वास भर्ने तयारीमा छ । प्रशिक्षक रोसले सिङ्गापुर जानुअघि २३ सदस्यीय खेलाडी टोलीको घोषणा गर्नुभएको थियो ।
नेपाली टोली
गोलरक्षक : किरणकुमार लिम्बू, दीप कार्की र अन्जल श्रेष्ठ
रक्षक : अनन्त तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बू र सुमन श्रेष्ठ
मिडफिल्डर : रोहित चन्द, लाकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी र कृतिशरत्न छिन्जु
स्ट्राइकर : जिलेस्पीजंग कार्की, अन्जन विष्ट, सुवास बम ठकुरी र रेजिन सुब्बा