• ८ वैशाख २०८२, सोमबार

पर्यटकीय क्षेत्र चिनाउन भित्तेचित्र

blog

हेटौँडा समाचारदाता

हेटौँडा, चैत ७ गते । बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको धार्मिक एवं पर्यटकीय क्षेत्र चिनाउन रङ्गीन भित्तेचित्र कोरिएको छ । पूर्व–पश्चिम राजमार्गको हेटौँडा–१० स्थित नेपाल ट्रस्टको पर्खालमा हेटौँडा उपमहानगरपालिकाले यहाँको पर्यटकीय क्षेत्र चिनाउन भित्तेचित्र कोरेको हो । 

उपमहानगर क्षेत्रभित्रका महìवपूर्ण पर्यटकीय गन्तव्यको पहिचान चित्रकलामार्फत देखाउन थालिएको छ । सफा, स्वच्छ र हरित नगरीको पहिचान बोकेको नगरमा भित्तेचित्रले थप रौनकता थपिदिएको हो । हेटौँडाको सहिद स्मारक, भुटनदेवी मन्दिर, गोरक्षश्वर मन्दिर, हनुमान प्रतिमा, चुरियामाई मन्दिर, भुवनेश्वर मन्दिरलगायतका धार्मिक र पर्यटकीय क्षेत्र पर्खालमा बनाइएको छ । पहिलो चरणमा एक हजार सात सय स्क्वार क्षेत्रमा १५ वटा चित्र पेन्ट गर्न थालिएको छ । नगरको खरिद समितिमार्फत नगरका विभिन्न वडामा रहेका धार्मिक एवं पर्यटकीय गन्तव्यलाई चित्रकलामार्फत पर्खालमा उतार्ने काम उपमहानगरले गरेको हो । 

पर्खालमा चित्र निर्माणका लागि उपमहानगरपालिकाले चार लाख ६८ हजार ३५३ रुपियाँ बजेट विनियोजन गरेको छ । उपमहानगरपालिकाले नगरलाई सुन्दर बनाउने अभियान अनुसार खाली रहेको पर्खालमा कला झल्काउने चित्र निर्माण गरिएको हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले बताउनुभयो । पर्खालमा निर्माण गरिएको चित्रले नगरलाई पर्यटकीय क्षेत्रका रूपमा चिनाउन मद्दत गर्ने उहाँको विश्वास छ ।