• १३ चैत २०८१, बुधबार

महोत्सवमय बन्दै सहर

blog

काठमाडौँ, चैत ७ गते । कुनै समय देशका कम सहरमा मात्र हुने साहित्यिक महोत्सव अहिले बाक्लिँदै गएका छन् । स्थानीय तहमा यस्ता महोत्सव चलिरहेका छन् । महोत्सवको मुख्य उद्देश्य भनेको लेखक र पाठकबिचको सम्बन्धलाई स्थापित गर्नु नै हो तर यहाँ हुने कतिपय महोत्सवमा एउटै अनुहार दोहोरिरहेका गुनासा धेरै सुनिन थालेका छन् । महोत्सव कसका लागि गर्ने र किन गर्ने भन्ने कुरामा अझ पनि आयोजकहरू अलमलमा नै देखिन्छन् । साहित्यिक महोत्सवमा समसामयिक विषय र मुद्दामा बहस/छलफल पनि हुने गर्छ । आलोचनात्मक कुराको निर्माण गर्न यही बहसले सहयोग गर्छ तर के यो विश्वासले सार्थकता पाएको छ ?

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठक भन्नुहुन्छ, “यहाँ महोत्सव गर्छु भनेर आँट गर्ने धेरै छन् तर महोत्सव गर्न आर्थिक स्रोत जुटाउन कति गाह्रो छ त्यो कसैलाई थाहा छैन । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आठौँ संस्करणसम्म आइपुग्दा गाह्रो महसुस गरेको उहाँको गुनासो थियो । आर्थिक सहयोगका लागि जाँदा सबै आफ्नै फाइदाको कुरा गर्छन् । तपाईंको महोत्सवले हामीलाई के फाइदा हुन्छ भन्नेहरू यहाँ धेरै छन् । महोत्सव हुनु राम्रो हो तर महोत्सवका लागि दिइने सहयोगमा केही ध्यान दिनुपर्ने उहाँको भनाइ छ । सन् १९८३ देखि स्कटल्यान्डको एडिनवर्गमा हुँदै आएको अन्तर्राष्ट्रिय साहित्य भेलालाई विश्वकै ठुलो महोत्सव मानिन्छ । संयुक्त अधिराज्य (बेलायत) को वेल्समा हुने अर्को ‘हे साहित्यिक महोत्सव’ पनि अन्तर्राष्ट्रिय रूपमा परिचित महोत्सव हो । पेरिस बुक फेयर, मेलबर्न फेस्टिभल र भारतको जयपुरमा हुने साहित्यिक महोत्सवमा पनि ठुलो सङ्ख्यामा लेखक÷आगन्तुक भेला हुने गर्छन् । नेपालमा पनि कर्णाली उत्सव (सुर्खेत), कला साहित्य उत्सव (काँकडभिट्टा), काठमाडौँ उत्सव, बकैया कला साहित्य महोत्सव (मकवानपुर), नेपाल लिटरेचर फेस्टिभल (पोखरा), बागमती साहित्य महोत्सव (धादिङ), कोशी विचार उत्सव (विराटनगर), टीकापुर साहित्य महोत्सव (टीकापुर), इलाम साहित्य महोत्सव (इलाम) हुँदै आएका छन् । कलिङ्गा साहित्य महोत्सव निर्देशक रञ्जना निरौलाले महोत्सव फैलनु आफैँमा सकारात्मक भएको बताउनुहुन्छ । यो एउटा जागरुकता पनि हो । साहित्यप्रति जागरुकता बढेको र हामी संवेदनशील भएको हो जस्तो लाग्छ, उहाँ भन्नुहुन्छ, “महोत्सव गरौँ भन्यो तर आर्थिक स्रोत जुटाउनै सकिँदैन ।” कतिपय महोत्सव आर्थिक स्रोतकै कारण बन्द भएको पनि उहाँको भनाइ थियो । साहित्य क्षेत्र सानो भएकाले पनि महोत्सवमा सधैँ उही अनुहारका वक्ता दोहोरिने उहाँ बताउनुहुन्छ । 

इलाम साहित्य महोत्सवका आयोजक प्रकाश थामसुहाङका अनुसार स्थानीय तहको सहयोगले गर्दा अहिले महोत्सव गर्न केही सहज भएको छ । एउटा महोत्सव गर्दा १५ देखि २० लाख खर्च हुने उहाँ बताउनुहुन्छ । “सबैतिर देखिने अनुहार नै वक्ताका रूपमा देखिनु नौलो होइन, जो चल्छ उही बिक्छ,” उहाँ भन्नुहुन्छ ।  

देश यतिबेला महोत्सवमय बनेको छ । महोत्सवहरू फैलिँदै गएका छन् र सीमित घेरामा खुम्चिएका पनि छन् । महोत्सव फैलिँदै जानुले यसको वृद्धिसँगै औचित्य र सार्थकतामाथि प्रश्नहरू कुनै कुनै बेला उठ्ने गर्छन् । त्यतातिर पनि महोत्सव आयोजकले ध्यान दिए साहित्य क्षेत्र एउटै व्यक्त्विमा खुम्चिनु पर्दैनथ्यो ।