• ९ चैत २०८१, शनिबार

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा

blog

काठमाडौँ, चैत ६ गते। बिहीबारदेखि सुरु हुने आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सम्पूर्ण तयारी पुरा भएको छ। महोत्सव चैत्र ७ गते देखि ११ सम्म महोत्सव काठमाडौंमा आयोजना हुँदैछ। 

यसपटक निफको निर्णायक मण्डलमा छोटा चलचित्र तथा वृत्तचित्रतर्फ प्रमुख जुरीमा निर्देशक दीपेन्द्र गौचन र चलचित्रतर्फ अभिनेत्री सुरक्षा पन्त, निर्देशक सम्पादक रक्षा सिंह राणा चलचित्र समीक्षक सम्पादक रिता दत्ता, निर्देशक लिउ जियान र कलाकार जमल शाह लगायत रहेका छन्।

महोत्सवमा कुनै एउटा देशको चलचित्रलाई विशेष प्रदर्शन गर्ने योजना अनुसार यस वर्ष महोत्सवको तेस्रो दिन शनिबार ‘रसियन फिल्म डे’ को पनि आयोजना गरिने नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ।

शनिवार आयोजना हुने उक्त फिल्म डे मा रसियाको तीनवटा चलचित्र प्रदर्शन गरिनेछ। यसपटक महोत्सवमा ३ वटा अडियन्स च्वाइस अवार्ड र एआई अवार्ड थप पनि गरिएको छ। अडियन्स च्वाइस अवार्डको लागि चैत्र ७ गते देखि ११ गते दिनको ४ बजेसम्म खल्ती एप बाट भोटिङ गर्न सकिने व्यवस्था गरिएको छ।

बिहीबार महोत्सवको क्युएफएक्स सिभिल मलमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालकको प्रमुख आतिथ्यमा उद्घाटन समारोह सुरू हुनेछ। समारोहको पहिलो दिन मिनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ प्रदर्शन हुनेछ। महोत्सवको अन्तिम दिन अर्थात् चैत्र ११ गते ४ बजे संचार तथा सुचना प्रबिधीमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख अतिथ्यमा अवार्ड वितरण गर्दै महोत्सबको समापन गरिनेछ।

‘विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छानिएको आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ।