गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ४ गते । नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको बिजुली एक महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरेको छ ।
निर्माण सम्पन्न भएको मध्य भोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरणहरू परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो । हाल चुहिएको सुरुङको मर्मत र सुधारको काम धमाधम भइरहेको छ ।
१०२ मेगावाट जडित क्षमताको मध्य भोटेकोशीबाट हिउँदयामका महिनामा ४० मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवं मध्य भोटेकोशी जलविद्युत् कम्पनी सञ्चालक समितिका अध्यक्ष सुभाषकुमार मिश्र सम्मिलित टोलीले शनिबार खिम्ती–बाह्रबिसे प्रसारण लाइन र सबस्टेसनको अनुगमन भ्रमण गरी निर्माण प्रगतिबारे जानकारी लिएको छ ।
मध्य भोटकोशी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाह हुने तामाकोशी–काठमाडौँ प्रसारण लाइन आयोजना अन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्मको चार सय केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । प्रसारण लाइन आयोजना अन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावरहरू खडा भइसकेका छन् । करिब एक किलोमिटर मात्र तार तान्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
चार सय केभी नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइनलाई तत्काल दुई सय केभीमा सञ्चालन (चार्ज) मा ल्याएर मध्य भोटेकोशीको विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा जोड्ने प्राधिकरणको योजना छ ।
हिउँदयामको विद्युत् भार व्यवस्थापनका लागि ४० मेगावाटको पनि ठुलो भूमिका हुने भएकाले दुवै आयोजनाको निर्माण संवेदनशील र अत्यावश्यक देखिएकाले अनुगमन गर्न आफैँ फिल्डमा आएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले निर्माणलाई गम्भीर रूपमा लिएर बाँकी काम आवश्यक समन्वय गरी तीव्र रूपमा अगाडि बढाउन निर्देशन दिनुभयो ।
बाह्रबिसे नगरपालिका–५ स्थिति मध्य भोटेकोशी आयोजनाको विद्युत्गृहको स्विचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण भइसकेको छ । तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि तामाकोशी काठमाडौँ प्रसारण लाइन निर्माण गरिएको हो । बाह्रबिसे लप्सीफेदी लाइन खण्डमा पर्ने १२२ टावरमध्ये दुई वटाको मात्र निर्माण बाँकी रहेको छ । आयोजना अन्तर्गत नै बाह्रबिसेमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।