गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ४ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले आइतबार दुई व्यापारिक प्रतिष्ठानलाई ५० हजारका दरले आर्थिक जरिबाना गरेको छ । विभागको अनुगमन टोलीले आइतबार छ वटा व्यवसायी फर्मको अनुगमन गरेकोमा काठमाडौँ महानगरपालिकामा रहेका बालाजी इन्टरप्राइजेज र कालिका बुटिक सेन्टरलाई ५०/५० हजार रुपियाँका दरले जरिबाना गरेको हो । अनुगमनका क्रममा ती व्यापारिक फर्मको दर्ता नवीकरण नगरेको र खरिद बिलबीजक देखाउन नसकेपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार अनुगमन टोलीले कार्यस्थलमै जरिबाना गरेको विभागले जनाएको छ ।
अनुगमन गरेका छ वटामध्ये दुई वटाले बिलबीजक देखाउन नसकेपछि कागजातसहित तीन दिनभित्र विभागमा उपस्थिति हुन निर्देशन दिएको छ भने दुई वटालाई सुधार गरेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको विभागका निर्देशक डिकबहादुर कार्कीले जानकारी दिनुभयो ।