• ३ चैत २०८१, आइतबार

राष्ट्रिय परिचयपत्र अब पालिकाबाटै

blog

सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट जारी गरिएको नागरिकता प्रदान गर्दै नगरप्रमुख रणबहादुर राई र प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ । तस्बिरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, चैत ३ गते । इलामको सूर्योदय नगरपालिकामा आजदेखि राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता वितरणको काम थालिएको छ । आज एक कार्यक्रमबिच सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले राष्ट्रिय परिचयपत्रको दर्ता स्टेशनको उदघाटन गर्नुभयो ।  

आजैदेखि सूूर्योदय –२ पशुपतिनगरमा रहेको सीमा प्रशासन कार्यालयबाट नगरपालिकाका १४ वटै वडाका नागरिकलाई नागरिकता दिन थालिएको छ । यसअघि सीमा प्रशासनबाट ६ वटा वडाका नागरिकलाई मात्र नागरिकताको सेवा दिइएको थियो । अहिले सेवा विस्तार गरेर सूूर्योदय नगरपालिकाका सबै नागरिकलाई सेवा दिन थालिएको हो । 

नागरिकता बनाउन तथा राष्ट्रिय परिचयपत्र दर्ता गराउन इलाम सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालयसम्म नै पुग्नुपर्ने बाध्यता हटेको सूूर्योदय नगरप्रमुख रणबहादुर राईले बताउनुुभयो । ‘सदरमुुकाम जान यहाँका सबै नागरिकलाई समस्या थियो, यतैबाट सेवा सुुरु भएपछि आर्थिक रुपमा र समय दुबैको बचत भएको छ ।’ नगरप्रमुख राईले भन्नुुभयो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अस्थायी स्टेशन स्थापना गर्नेगरी राष्ट्रिय परिचयपत्रको फोटो खिचाउन र फारम भर्न सूूर्योदय नगरपालिकालाई अनुमति दिएको थियो । जिल्लामा पहिलो पटक सदरमुकामबाट राष्ट्रिय परिचयपत्रको सेवा पालिकामा पुुगेको हो ।