बुटवल समाचारदाता
बुटवल, चैत ३ गते । विश्वशान्तिको कामना गर्दै बुटवलमा शनिबार पहिलो पटक बृहत् श्रामणेर प्रवज्या तथा धम्मयात्रा भएको छ । बुद्ध धर्म र दर्शनको प्रचारप्रसार गर्ने तथा बुद्ध शिक्षाको महत्वलाई अझै फैलाउने उद्देश्यसमेत रहेको धम्मयात्राको शनिबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले दीप प्रज्वलन गरी शुभारम्भ गर्नुभयो ।
थाइल्यान्डको धम्मकाय फाउन्डेसनको सहयोगमा अखिल नेपाल भिक्षु महासङ्घ, थाई भिक्षु महासङ्घ र लुम्बिनी विकास कोषको आयोजनामा बुटवलमा भएको धम्मयात्रा बुटवलको पुरानो गणेशस्थान मन्दिर, पुलचोक, अमरपथ, श्रवणपथ हुँदै हिलपार्क पुगेको थियो । धम्मयात्राको शुभारम्भ गर्दै बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयले विश्वमा अशान्तिको वतावरण बढ्दै गएकाले बुद्ध धर्मको प्रचारप्रसारमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले बुटवललाई धार्मिक तथा पर्यटकीय सहरका रूपमा विकास गर्ने उद्देश्यले काम भइरहेको बताउँदै लुम्बिनीदेखि मुस्ताङको मुक्तिनाथधाम क्षेत्र बुटवल हुँदै जानुपर्ने भएकाले यसलाई धार्मिक विश्रामस्थलका रूपमा पनि विकास गर्नुपर्ने बताउनुभयो ।
त्रिरन्त वन्दना पुच बुटवलका प्रमुख सल्लाहकार तथा बुटवल उपमहानगरका पूर्वउपपप्रमुख विमलबहादुर शाक्यले बुटवलमा पहिलो पटक भएको धम्मयात्राले नेपालमा शान्तिको सन्देश फैलाउन, बुद्ध शिक्षाको प्रचारप्रसार गर्न तथा मैत्री र करुणाको भाव जागृत गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बुटवलबाट सुरु भएको धम्मयात्रा भैरहवाको रङ्गशाला हुँदै लुम्बिनी गेट पुगेर शनिबार साँझ समापन गरिएको जानकारी दिनुभयो ।