निशा राई
धरान, चैत २ गते । तेस्रो गोर्खा ट्रेल ब्लेजर १० किलोमिटर खुला दौड प्रतियोगितामा पुरुषतर्फ तेह्रथुमका सुरज लिम्बु र महिलामा पाँचथरकी पुष्पा शेर्मा पहिलो हुनुभएको छ ।
गोर्खा सिमेष्ट्रिज ट्रष्ट नेपालको आयोजना र धरान–१८ को वडा कार्यालयको संयोजन तथा धरान उपमहानगरपालिकाको सहयोगमा शनिबार भएको प्रतियोगितामा लिम्बुले ३४ मिनट ४५ सेकेन्डमा उक्त दुरी पूरा गर्नुभएको थियो । शेर्माले ४५ मिनट ३४ सेकेन्डमा दौड पूरा गर्नुभयो ।
पुरुषतर्फ ओशन राई दोस्रो र स्काई लिम्बु तेस्रो हुनुभयो । महिलातर्फ दिपा बस्नेत दोस्रो र इन्द्रकला नेम्वाङ निक्की तेस्रो हुनुभयो । विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमश: २० हजार, १० हजार र पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरियो । विजेताले हङकङमा आयोजना हुने सन् २०२६ हुने गोर्खा ट्रेल रनमा भाग लिन पाउनेछ ।
दोस्रो विश्वयुद्ध लडेका सैनिक सम्मानित
प्रतियोगिताको अवसरमा दोस्रो विश्वयुद्ध लडेका जीवित पूर्व ब्रिटिस गोर्खा सैनिकहरुलाई सम्मान गरिएको छ ।
दोस्रो विश्वयुद्ध लडेका खोटाङ जन्ते ढुङ्गा निवासी हाल बेलटार बसोबास गर्ने १०२ वर्षीय जीवित दलबहादुर राई, रत्न चौक निवासी टेन जिआरका क्याप्टेन दिवंगत रत्नमान राईको श्रीमती ८५ वर्षीया रामकुमारी राई र सेभेन जिआरका ८५ वर्षीय कृष्णदेव राईलाई सम्मान गरिएको हो ।