• १ चैत २०८१, शुक्रबार

माटोको अवस्था पहिचान गर्न निःशुल्क माटो परीक्षण

blog

गाउँमा नै निःशुल्क माटो परीक्षण गराउँदै कृषकहरू । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, चैत १ गते । स्याङ्जाको वालिङ नगरपालिका–१ का कृषकहरूले गाउँमा नै निःशुल्क माटो परीक्षण गराएका छन्। माटोको उर्वराशक्ति र अवस्थाको बारेमा जानकारी लिन गाउँमा नै माटो परीक्षण गरिएको वालिङ नगरपालिका–१ वडाध्यक्ष पदमराज गुरुङले जानकारी दिनुभयो । 

कृषि उत्पादनका लागि परिचित उक्त वडाका अधिकांश कृषकले आआफ्नो खेतबारीको माटो परीक्षण गराएका वडाध्यक्ष गुरुङले बताउनुभयो । वडा कार्यालयको आयोजना तथा माटो तथा मल परिक्षण प्रयोगशाला गण्डकी प्रदेश पोखरा कास्कीको प्राविधिक सहयोग र वालिङ कृषि विकास परियोजना (हेफर)को सहकार्यमा गाउँमा नै माटो परीक्षण शिविर गरिएको हो । 

शिविरमा एक सय १२ जना कृषकहरूले ल्याएको दुई सय ३० वटा माटोका नमुना परीक्षण गरिएको वडा सदस्य शोभाकान्त काफ्लेले जानकारी दिनुभयो । माटो परीक्षणको नतिजा अनुसार, करिब ९५ प्रतिशत माटो छारिय तत्व भेटिएको छ भने पाँच प्रतिशत माटोमा अम्लियपन देखिएको काफ्लेले बताउनुभयो । 

कृषकले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएको खेतबारीको माटोमा प्राङ्गारिक तत्वको कमी देखिएको उहाँको भनाइ छ । यसको लागि वडा कार्यालयले विभिन्न साझेदार समूहसँग मिलेर अगानिक मलको व्यवस्थापन र माटो सुधारको काम सुरु गर्ने योजना बनाएको काफ्लेले बताउनुभयो । 

माटो परीक्षणको महत्त्वलाई बुझाउन र  यसका आधारमा कृषकहरूलाई सही मार्गदर्शन दिने योजनाका साथ माटो परीक्षण शिविर राखिएको भन्दै वडाध्यक्ष गुरुङले कृषकलाई सचेत गराउन सकिए बिषादीको प्रयोग घट्ने दाबी गर्नुभयो । 

दीगो र समृद्ध कृषि विकासमा मद्दत पुर्‍याउन कृषकहरूलाई सरल र प्रभावकारी तरिकामा माटो सुधार गर्ने उपायहरू सिकाउन सुरु गरिएको वालिङ नगरपालिकाका प्रमुख कृष्ण खांणको भनाइ छ । 

माटो परीक्षण शिविर नगरपालिकामा नियमित हुँदै आएको भन्दै प्रमुख खांणले वडा तहमा नै पुगेर यो कार्यलाई निरन्तरता दिइने बताउनुभयो ।